कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्री धनी



सैघाली खबर
जेठ २३ ,सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा धनी मन्त्रीमा भौतिक पूर्वाधारमन्त्री खड्ग खत्री देखिएका छन्। खत्रीसँग पुर्ख्यौली थलो चिङ्गाडको रानीबासदेखि सुर्खेत भेरी गंगा, वीरेन्द्रनगर, बाँकेको कोहलपुर खजुरा, कैलाली, भक्तपुर, काठमाडौंमा घरजग्गा तथा घडेरी रहेका छन्।

उनीसँग २१ तोला सुन, एक किलो चाँदी र विभिन्न बैंक तथा कम्पनीको नाममा ४८ लाख रुपैयाँ नगद रहेको छ। तीन लाख २१ हजार २२१ कित्ता शेयरवापतको नगद ११ करोड ८६ लाख ७१ हजार रुपैयाँ रहेको छ। केवी एण्ड हिमाल ग्रुपमा एक लाख ४६ हजार ३०० कित्ता शेयरको रकम वापत ९ करोड ५० लाख ५३ हजार रुपैयाँ रहेको छ। तीन वटा जिप, मोटरसाइकल तीनवटा, स्काभेटर पाँचवटा, ट्रिपर आठवटा, एउटा ट्रेलर, एउटा ट्रक, एउटा भ्याकु लोडर र एउटा स्कुटर रहेको विवरणमा जनाइएको छ।

विवरणअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कालीकोट र कैलालीलगायतका ठाउँमा जमिन देखिएको छ। त्यसैगरी बैंकमा नौ लाख ३५ हजार रुपैयाँ नगद, छ तोला सुन, २०० तोला चाँदी रहेको उल्लेख छ।

त्यसैगरी धितो पत्रमा कृषि सहकारी संस्थामा १० हजार रुपैयाँ नगद, सुजो मल्टी प्रपोज कम्पनी प्रालिमा अध्यक्ष रहेको तलब र व्यापारबाट आएको जम्मा १० लाख रुपैयाँ देखिएको छ। एउटा १५ लाख रुपैयाँको मारुती कार, कुखुरा पालनमा एक लाख रुपैयाँ बराबरको लगानी र तरकारी उत्पादनको मासिक दुई लाख पाँच हजार रहेको सम्पति विवरणमा उल्लेख छ।

त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सार्वजनिक गरेको सम्पति विवरणअनुसार सल्यान वनगढी कुपिन्डेमा १५० वर्ग किलोमिटरमा फैलिएको घर, बर्दियाको बासगढीमा आमाको नाममा रहेको एउटा घर, काठमाडौंमा १५ लाख रुपैयाँको घडेरी, सल्यानको शारदा नगरपालिकामा तीन लाख रुपैयाँ बराबरको जग्गा, दाङ तुल्सीपुरमा २५ लाख रुपैयाँ बराबरको घर जग्गा, घोराहीमा २५ लाख रुपैयाँ बराबरको घरजग्गा रहेको छ। नगद १५ लाख रुपैयाँ, सुन तीन तोला र चाँदी १० तोला रहेको छ। विभिन्न संस्थाहरूमा छोराछोरी र आफ्नो नाममा रहेको शेयर रकम जम्मा ५० लाख ६५ हजार रुपैयाँ रहेको उल्लेख छ। त्यसैगरी ज्वालासँग एउटा ट्र्याक्टर पनि रहेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नाममा जुम्ला देवलपुरमा र बाँकेमा गरी दुईवटा घर रहेका छन्।

त्यसैगरी जुम्ला देपाल गाउँमा ६७ हजार वर्ग किलोमिटरमा फैलिएको जग्गा रहेको छ। भण्डारीसँग १५ तोला सुन, १० तोला चाँदी, एभरेष्ट बैंकमा एक लाख रुपैयाँ नगद, मोटरसाइकल एउटा, दुई सेट मोबाइल रहेका छन्। सामाजिक विकासमन्त्री दल रावलको पनि बाँके उपमहानगरपालिका र सिमकोट हुम्लामा एकरएकवटा घर, हुम्लाको सर्केगाडमा दुईवटा घर, सुर्खेत वीरेन्द्रनगरमा घडेरी र हुम्लामा जग्गा रहेको देखिन्छ।

त्यस्तै, ५५ तोला सुन र १५० तोला चाँदी रहेको छ। एसबिआई, सनराइज र राष्ट्रिय बाणिज्य बैंकमा रावल र श्रीमतीको नाममा २७ लाख रुपैयाँ नगद रकम रहेको छ। अन्य गाई, गोरु र भैँसी र बाख्रा पनि रहेको रावलले विवरणमा उल्लेख गरेका छन्।

त्यसैगरी भूमि व्यवस्था तथा सहकारीमन्त्री विमला केसीसँग रुकुम सिम्लीमा एउटा घर, विभिन्न कित्तामा पैत्रिक जग्गा जमिन, सुर्खेत वीरेन्द्रनगरमा एउटा घडेरी, दाङको तुल्सीपुरमा एउटा घडेरी रहेको छ। केसीको पिपुल्स इनर्जी लिमिटेडमा १० लाख रुपैयाँ शेयर रहेको छ। पर्यटनमन्त्री नन्दसिंह बुढासँग डोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा घर, बुबा धनीराम बुढाको नाममा दुई हजार वर्ग किलोमिटरमा जग्गा, सुन १५ तोला र चाँदी एक किलो रहेको छ। बुढासँग गाई, घोडा र बाख्रा गरी २५ वटा रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्