नारायणगढ–मुग्लिनको दैनिक ६ घण्टा बन्द हट्यो, अवको यात्रा कालोपत्रे सडकको ।।



सैघाली खबर, २३ जेठ।
बहुप्रतिक्षित नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।

‘सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको छ,’ सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’ गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाका सूचना अधिकारी खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको जानकारी दिए ।

भौतिक प्रगति कति ?
निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न हुने क्रममा छ । आयोजनालाई तीन खण्डमा विभाजन गरी अलग–अलग ठेकेदारहरु मार्फत निर्माणको काम अघि बढाइएको थियो । जसअन्तर्गत आँपटारी–दासढुंगा खण्ड निर्माणको जिम्मा लिएको बीएलए निर्माण कम्पनीले १०.४५ किलोमिटर सडकको सबै स्थानमा दोस्रो तहको पिच सकिसकेको छ भने २ किलोमिटर सडकमा तेस्रो तहको पिच पनि निर्माण भैसकेको छ । यो कम्पनीको भौतिक प्रगति ९१.२ प्रतिशत रहेको छ ।

त्यस्तै दासढुंगादेखि सिमलताल खण्डको निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन कम्पनीले १०.६९ किलोमिटर मध्ये तीन तहकै पिच निर्माणको काम सम्पन्न गरिसकेको छ । यसको भौतिक प्रगति ९७.५० प्रतिशत रहेको छ । सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम रौतहा निर्माण कम्पनीको १२.१५ किलोमिटरमा पहिलो तहको र ११.८ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । यो खण्डमा तेस्रो तहको पिच शुरु भएको छैन ।

अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ । समग्रमा ३३.२ किलोमिटरमध्ये ३२.७ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । १२.७ किलोमिटरमा तेस्रो तहको पिच सकिएको छ । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ । बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने जानकारहरु बताउँछन् । राजधानी काठमाडौंको लाइफलाइनका रुपमा रहेको यो सडकखण्ड निर्माण पूरा गर्न निकै चुनौती पूर्ण थियो । जटिल भौगोलिक बनावट, पहिरोको जोखिम र सवारी चापलाई व्यवस्थित गरेर काम गर्नुपर्ने अवस्थालाई हेर्दा सडक निर्माण निकै महत्वाकांक्षी मानिएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्