एक लाखसम्मको स्वास्थ्य बिमाले जेष्ठ नागरिक हर्षित, तर कार्यान्वयन कसरी ?



सैघाली खबर, २३ जेठ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने योजना बनाएको छ । हाल ४० जिल्लामा त यो कार्यक्रम सन्चालन भइरहेकै छ । अझ बजेटले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको एक लाख बराबरको बिमा शुल्क सरकारले नै व्यहोर्ने जनाएको छ । हाल बिमाको काम गरिरहेको स्वास्थ्य बिमा बोर्ड भने ज्येष्ठ नागरिकलाई कसरी बिमाको सेवा दिने भन्ने सरकारको प्रस्ट निर्देशन कुरेर बसेको छ ।

७० वर्षभन्दामाथिका सबै ज्येष्ठ नागरिकको एक लाख रुपैयाँसम्मको बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले व्यहोर्ने भाषण अर्थमन्त्रीले बजेटमा गरेपनि कार्यान्वयनका लागि प्रस्ट कार्यादेश चाहिने स्वास्थ्य बिमा बोर्डले जनाएको हो । बजेट भाषणमा बिमाबारे सुन्दा निकै खुसी बनेका वृद्धवृद्धा भने यो कसरी कार्यान्वयन हुन्छ ? भन्ने अन्योलमा छन् । हाल मासिक दुई हजार रुपैयाँ वृद्धभत्ता पाइरहेका ज्येष्ठ नागरिक बिमा शुल्क तिरिदिने र एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार पाउने सरकारी योजनामा मख्ख परेका हुन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले कार्यक्रम सन्चालन गर्न समस्या नहुने भएपनि तथ्यांक संकलन गरेर कार्यान्वयन गर्नुपर्ने बताए । हाल ४० जिल्लामा लागू भएको स्वास्थ्य बिमामा भने एक परिवारले वार्षिक २५ सय रुपैयाँ तिर्दा ५० हजारसम्मको उपचार निःशुल्क पाइरहेका छन् । ज्येष्ठ नागरिकको एक लाख बराबरको बिमाको वार्षिक रकम सरकारले तिर्ने भनिएकामा पाँचजनाको परिवारमा वृद्धवृद्धा पनि रहेमा कसरी व्यवस्थापन गरिन्छ ? भन्नेचाहिँ प्रस्ट भएको छैन । यस्तै, परिवारविहीन ज्येष्ठ नागरिकको हकमा के हुन्छ ? भन्ने पनि प्रस्ट छैन ।

यसका लागि कार्य्विधि वा नियमावली ल्याउनुपर्ने डा. उपाध्यायको भनाइ छ । स्वास्थ्य बिमा गरेकाहरुले प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालबाट सेवा लिन पाउनेछन् । सरकारी स्वास्थ्य केन्द्रहरुबाट ‘रिफर’ गरिएकाहरुले देशैभरका मेडिकल कलेजबाट पनि सेवा पाउने व्यवस्था मिलाइएको छ । ४० जिल्लामा भने अहिलेसम्म जम्मा ८ लाख ९९ हजार ४६५ जना स्वास्थ्य बिमाको दायरामा आएका छन् भने दुई लाखजनाले सेवा लिइरहेको बोर्डले जनाएको छ ।

बजेटमा एक अर्ब ४८ करोड रुपैयाँ रकम छुट्टयाइएकामा यो वर्ष बिमा शुल्कबापत नै ४३ करोड ३ लाख ९५ हजार रकम उठेको छ । सेवाप्रदायक संस्थाहरुमा ३० करोड रकम पठाइएको छ भने बिमा शुल्कबापत उठेको रकम भने खर्च गरिएको छैन । बिमीतले यस योजनामा अस्पतालबाट ओपीडी, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियाजस्ता सेवा पाउँछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्