जिल्ला न्यायाधीशको शपथ



दाङ,२३ जेठ । न्याय परिषद्को सिफारिश भएका १६ जिल्ला न्यायाधीशलाई आज पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी गराउनुभयो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायपरिषद्का सदस्य ओमप्रकाश मिश्रले कानूनले तोकेको मापदण्डका आधारमा काम गरी अधिकतम न्याय सम्पदान गर्न निर्देशन दिनुभयो । पहिलो पटक न्याय सेवा आयोगले न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जिल्ला न्यायाधीशमा उत्तीर्ण हुनु भएको हो ।
शपथ गराइएका जिल्ला न्यायाधीशमा एक जना महिला न्यायाधीश कमला पौडेलसहित तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी रहनु भएको छ ।

सर्वोच्चका सहप्रवक्ता कालाखेतीले शपथ गराइएका जिल्ला न्यायाधीशलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट तालीम दिइसकेपछि मात्र जिल्ला बाँडफाँड गरिने जानकारी गराउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्