प्रदेश ६

भिरबाट लडेर ३० जनाको ज्यान गयो ।।

By थाहा अनलाइन

June 07, 2018

सैघाली खबर, २४ जेठ। अफ्ठ्यारो बाटो, भिरालो जमिन भएकै कारण जाजरकोटका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना सार्वजनिक भएको हो । अन्य दूरदराज ठाउँमा भएका घटनाको बारेमा थाहा नहुँदा कतिको अकालमा मृत्यु हुन्छ भन्ने थाहा नै नहुने गरेको छ ।

गत फागुनमा बाटोमा पैदलयात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भिरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो । जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उहाँको मृत्यु भएको हो ।

नलगाड–५, ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको चैत महिनाको दोस्रो हप्ताको सोमबार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो । घर नजिकैको भिरबाट लड्दा करीब ३०० मिटर तल उनी मृत फेला परेका थिए । गत चैतमा जंगलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुंगा लागेर मृत्यु भयो । माथिबाट आएको ढुंगा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो ।

नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको चैतमा नै मृत्यु भयो । नलगाड–५, गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उहाँको ज्यान गएको थियो । यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोटमा हिँड्दाहिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दाहिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयसँग पैदलयात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ । खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाको शव परीक्षण गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो । जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको छ ।।