राष्ट्रिय पार्टीमा ‘महिला संकट’, कुनै दलमा छैन ३३ प्रतिशत, निर्वाचन आयोगले दियो तीन महिना म्याद ।।



सैघाली खबर, २४ जेठ।
संघीय संसदमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका कुनै पनि दलले आफ्नो केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन सकेका छैनन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को दर्तासँगै सुरु भएको यो बहसले सबै पार्टीलाई तानेको छ । निर्वाचन आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि राष्ट्रिय मान्यता प्राप्त दल अब चारवटामात्र छन् । नेकपा, कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम कुनै पनि दलको केन्द्रीय कमिटीमा कानुन बमोजिम महिला प्रतिनिधित्व छैन । राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा १५ को उपदफा ४ ले राजनीतिक दलको प्रत्येक तहमा कम्तिमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । सोही ऐन बमोजिम आयोगमा दर्ता भएका कुनै पनि दलले एक तिहाई महिलाको प्रतिनिधित्व गराएका छैनन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा दलहरुले आयोग समक्ष महाधिवेशनबाट ऐन बमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने लिखित प्रतिबद्धता जनाएका थिए । तर, आयोगले नेकपाको दल दर्ता गर्ने सन्दर्भमा नयाँ निर्णय गर्दै ३ महिनाभित्र ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएपछि दलहरु अप्ठ्यारोमा परेका छन् ।

आयोगको निर्णयबारे प्रष्ट पार्दै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा भएका सबै प्राबधानहरु पूरा गर्नुपर्छ । हिजो निर्वाचनले गर्दा राजनीतिक संक्रमणको अवस्थामा के भयो भन्नेतिर नजाऊँ । अब ऐनको आधारमा सबै दलले आफूलाई व्यवस्थित र परिमार्जन गर्नुपर्छ भनेर यो निर्देशन दिइएको हो ।’ राजनीतिक दलका नेताहरुले ३३ प्रतिशत महिला सहभागिता आ–आफ्ना आगामी महाधिवेशनबाट गराउने प्रतिबद्धता जनाए पनि आयोगको निर्देशनपछि के हुन्छ भन्ने प्रश्न उठेको छ । यो एउटामात्र दलको समस्या नभएर सबै दलमाथि आइलागेको कानुनी प्रश्न हो ।

कुन दलमा कति महिला सहभागिता ?
मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जनामात्र महिला छन् । यो भनेको भनेको १७ दशमलब ६८ प्रतिशत हो । नेकपा केन्द्रीय सदस्य बिन्दा पाण्डेले देशमा दुई तिहाई शक्ति सहित शासन सञ्चालन गरेको दलले कानुन पालनाको नेतृत्व गर्नुपर्ने बताइन् । नेकपाले आफ्नो केन्द्रीय कमिटीको आकार बढाउने वा पुरुष हटाएर महिला थप्ने बाहेक अरु विकल्प छैन । साबिकका दुई पार्टी मिलेर नेकपा बनेकाले नयाँ पार्टीको महाधिवेशनपछि एक तिहाई महिला सुनिश्चित गरिने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला र्पुयाउन नेकपाले करीव आधा संख्या थप्नुपर्छ । पम्फा भुसाल, विन्दा पाण्डे लगायतका महिला नेताहरुले ३३ प्रतिशत सुनिश्चितता गर्न शीर्ष नेतालाई दबाब दिइरहेका छन् । नेताहरुले भने महाधिवेशनबाट पूरा गर्ने बताएका छन् ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसको हालत पनि उस्तै छ । कांग्रेसको ७५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १६ मात्र छ । भनेको २१ दशमलब ३३ प्रतिशत हो । कांग्रेसको महाधिवेशन ३ वर्षपछिमात्र हुने भनेर सभापति शेरवहादुर देउवाले भनिसकेको अवस्थामा ३३ प्रतिशत महिला सहभागिता गराउन मनोनित गर्नुपर्ने हुन्छ । कांग्रेसको बिधान अनुसार केन्द्रीय कार्य समितिमा पदेन सदस्य बाहेक बढीमा ८५ जनामात्र रहने व्यवस्था छ । यदि महाधिवेशनअघि नै एक तिहाई महिला सहभागिता गराउनुपरेमा अब बाँकी रहेको १० सदस्यमा सबै महिला मनोनित गरे पनि ३३ प्रतिशत पुग्दैन । कांग्रेसमा बिजय गच्छदारको पार्टी एकीकरण भए पनि केन्द्रीय कार्य समितिमा मनोनयन भएको छैन । गच्छदारले आफ्नो तर्फबाट कम्तिमा ७ जना केन्द्रीय सदस्य थप्नुपर्ने माग गरिरहेका छन् । कांग्रेसले महासमिति बोलाएर बिधान संशोधन गर्ने विकल्पमात्र बाँकी छ ।

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति नै भद्रगोल छ । ६ वटा पार्टी मिलेर एकीकरण हुँदा पेश गरिएको ८१५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १२९ मात्र छ । यो भनेको १५ दशमलब ८२ प्रतिशतमात्र हो । तीमध्ये पनि केन्द्रीय कोषाध्यक्ष अनिता यादव लगायतका कतिपय महिला नेताले पार्टी छाडिसकेका छन् । यादव तत्कालिन एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्य भइसकेकी छन् ।

संसदको चौथो ठूलो दल संघीय समाजवादी फोरम महिला सहभागिता गराउन अन्य तीन दलभन्दा थप अनुदार देखिएको छ । फोरमको २६८ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या २८ छ । जुन १० दशमलब ४४ प्रतिशत हो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्