म्याच फिक्सिङको आरोप लागेका सागर सहित ६ जनालाई सफाइ, फिफाको आजीवन प्रतिबन्ध भने कायमै ।।



सैघाली खबर, २४ जेठ।
‘म्याच फिक्सिङ’ को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन केसी रहेका छन् ।

आरोपित खेलाडीहरुको मुद्दामाथि विशेष अदातलमा बुधबार (हिजो) देखि जारी अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बिहीबार (आज) उनीहरुलाई सफाइ दिएको हो । पूर्वकप्तान सागर थापासहितका खेलाडीहरुले राष्ट्रिय फुटबल टोलीका लागि खेलेका विभिन्न खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।

प्रहरीले वि.सं. २०७२ साल असोज २७ गते राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालयले उनीहरुलाई राज्यविरुद्धको अपराध ऐनअन्तर्गत् जन्मकैदको माग गदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपालमा ‘म्याच फिक्सिङ’सम्बन्धी कानुन नभएकाले उनीलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

फिफाको आजीवन प्रतिबन्ध कायमै…………
विशेष अदालतबाट सफाइ पाएपनि पाँचैजनालाई विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले लगाएको आजीवन प्रतिबन्ध भने कायमै छ । सफाइ पाएका पाँचजनामध्येका अन्जन केसी केही समयअघि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अवैध सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका थिए । केसीमाथिको उक्त मुद्दा अदालतमा विचाराधीन रहेपनि उनी हाल धरौटीमा रिहा भएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्