मेलम्ची खानेपानी आयोजना फेरी आलटाल



काठमाडौँ, २४ जेठ  मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ ।

मन्त्री मगरले आज परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो ।

ठेकेदार आफैँ सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको तथा बारम्बार प्रतिबद्धता जनाउने र काम नगर्ने अवस्था आएको छ भन्दै कूटनीतिक पहल जरुरी रहेका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराइएको सचिव बिसीको भनाइ छ । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा चासो राख्न लगाउनका लागि नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभयो ।

गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो । ठेकेदार कम्पनीले आगामी भदौ १५ भित्र आयोजना सम्पन्न गर्ने र सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएको थियो । ठेकेदार कम्पनीले माग दावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरे पनि नियतवश काम नगरेको पाइएको सचिव बिसीको भनाइ छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सो विषयमा विस्तृतमा छलफल गरेर इटालेली दूतावासमा कुरा गरिने बताउँदै नेपालको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न गर्न नयाँ दिल्लीस्थित इटालेली दूतावासमा आवश्यक पहल गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिई काम शुरु गरेको थियो । कम्पनीको ठेक्काको म्याद गत वैशाख ३१ गते नै सकिसकेको छ । आयोजनाको मुख्य कामे सुरुङ बने पनि सुरुङभित्रको अरु काम बाँकी छ । ठेकेदारले कार्ययोजनानुरुप आफ्नो पूर्ण क्षमतामा काम गरेमा आगामी भदौ १५ गतेभित्र काठमाडौँमा पानी ल्याउन सकिने सम्भावना अझै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्