सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी साधन अलपत्र



बुटवल, २५ जेठ
सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगा सहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँची लगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन ।
पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष मात्र तीनपटक पहिरो खस्दा करीब एक साताभन्दा बढी दिन आवागमन अवरुद्ध भएको छ भने पहिरोमा पुरिएर एकजना सर्वसाधारणले ज्यान गुमाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्