के दुईवर्षमा नेपाल आउने पर्यटकको संख्या दोब्बर होला ?



 

सैघाली खबर, २५ जेठ।
सरकारले आगामी दुई वर्ष्भित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो । विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर–२०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो ।

उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा पूरा भयो । यो बीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए । के अबको दुई वर्षमा नेपाल आउने पर्यटकको संख्या दोब्बर होला ? यो चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्न ५९ सदस्यीय ‘नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समिति ’ गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहेको सो समितिको सदस्यहरुमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, सातवटै प्रदेशका पर्यटनमन्त्रीहरु, मन्त्रालयका सचिव, मातहत निकायका प्रमुख, निजी क्षेत्रका पर्यटनसम्बन्धी विभिन्न संस्थाका अध्यक्षहरु छन् ।

आजै मूल आयोजक समितिको पहिलो बैठक बसी भ्रमण वर्षको लोगो तथा केही प्रचार सामग्री सार्वजनिक गरिएको छ । सो अभियानलाई सफल बनाउन उच्चस्तरीय विचार विमर्शसमेत गरिएको छ । पर्यटनमन्त्री अधिकारीले नेपाल भ्रमण वर्षलाई सफल पार्न सबै निकाय सक्रिय ढंगले लाग्नुपर्ने बताए । “आज मूल आयोजक समितिको बैठक सम्पन्न भएको छ । अभियानलाई सफल तुल्याउन विभिन्न उपसमिति तय गरेका छौँ । भ्रमण वर्षलाई जसरी पनि सफल तुल्याउने छौँ, त्यसका लागि सबै क्षेत्रको सहयोग र सक्रियता आवश्यक छ”, पर्यटनमन्त्री अधिकारीले भने ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मूल आयोजक समितिका सदस्यसचिव दीपकराज जोशीका अनुसार नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको पहिलो बैठकले भ्रमण वर्षको प्रतीक चिह्न (लोगो) र उपसमितिहरु टुंगो लगाएको हो । पर्यटकले नेपाल आउँदा अविस्मरणीय अनुभूति ‘लाइफ टाइम भ्यालु एक्सपेरियन्स’ थिममा बनाइएको लोगोको पृष्ठभूमिमा हिमाल र अगाडिपट्टि एउटा संस्कृतिको संकेत राखिने छ, तलतिर ‘भिजिट नेपाल २०२० ः लाइफ टाइम एक्सपेरियन्स’ उल्लेख गरिनेछ । कार्यकारी प्रमुख जोशीले २० लाख पर्यटकको लक्ष्य भेटाउन पूर्वाधार बढाइ आक्रामक बजार प्रवद्र्धनका कामलाई अघि बढाइने छ भने ।

पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आवको बजेटमै पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने जनाएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनिमात्र विदेश भन्ने नीति लिइएको छ । सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सरकारले चालू आवमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पाँच अर्ब २० करोड ३४ लाख र हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आव २०७५÷०७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधा उपलब्ध गराई गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । बजेट तथा नीति कार्यक्रममै पर्यटकीय पूर्वाधारको मुख्य आधार निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य लिइएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने लक्ष्य छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्