जिल्लाभरी खुशीयालीः दरबाङमा एम्बुलेन्स, बाबियाचौरमा खानेपानी



म्याग्दी २७ जेठ
मंगला गाउँपालिका–४ दुर्दीमा रु ७० लाखको लागतमा भित्रिवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।

गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन ।

सबैको घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताए । विसं २०५२ मा निर्माण भएको आयोजनाको धारा जीर्ण हुँदा खानेपानीको समस्या झेल्दै आएका दुर्दीवासीको घरघरमा खानेपानी धारा जडान भएपछि राहत मिलेको अध्यक्ष फगामीले बताए ।

आयोजना निर्माणका लागि ६८ घरधुरी उपभोक्ताले चार महिनासम्म रु १९ लाख ४८ हजार ५०० बराबरको श्रमदान गरेका थिए । परियोजना र गाउँपालिकाले आर्थिक सहयोग गरेका छ ।

दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा

चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आएको छ ।

मर्मत र चालकको व्यवस्था गरेपछि गत वर्षदेखि थन्किएको एम्बुलेन्स सेवा गत हप्तादेखि सञ्चालनमा आएको हो । रु एक लाख ४२ हजार खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी सभापति याममती रोकाले बताए । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मालिका, धौलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । एम्बुलेन्स प्रयोगमा नआउँदा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्न बाध्य थिए ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पाँच वर्षअघि सदरमुकाम बेनी, उत्तरी क्षेत्रका लागि भुरुङ तातोपानी र पश्चिमी क्षेत्रका लागि दरवाङ उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । स्थानीय तह र सरोकारवाला संघसंस्थासँग समन्वय गरेर एम्बुलेन्सलाई नियमित र प्रभावकारी रुपमा सञ्चालन गरिने सभापति रोकाले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्