नेपालकै पहिलो ‘अन्डरपास वे’ यस्तो बन्यो ।। (भिडियो)



सैघाली खबर, २७ जेठ।
उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ । अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब भने यो समस्याको अन्त्य हुने भएको छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–सितापाईला–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो ।

यतिबेला अन्डरपास सडक निर्माण अन्तिम चरणमा पुगेको छ । अन्डरपास वे सञ्चालनमा आए कलंकी क्षेत्रको वर्षाैंदेखिको अस्तव्यस्त र भद्रगोल समस्याको अन्त्य हुनेछ । बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारीसाधन गुड्नेछ । अन्डरपास बनेसँगै चक्रपथ रिङरोड रुटका सवारी निर्बाध ढंगले चल्न सक्नेछन् । बल्खुको खसीबजारदेखि बाफलसम्म आठ सय ४० मिटर क्षेत्रफलमा अन्डरपास निर्माण भइरहेको योजनाले जनाएको छ । बल्खु–स्वयम्भू चल्ने सवारीसाधन अन्डरपास भएर गुड्नेछ ।

त्यस्तै, त्रिपुरेश्वरबाट नागढुंगातर्फ जाने, नागढुंगाबाट बल्खु र कालीमाटीतर्फ चल्ने सवारीले साबिकको माथिल्लो सडककै प्रयोग गर्नुपर्नेछ । ‘अहिले कलंकीमा सवारी पास हुन एकतर्फको सडक नै बन्द गर्नुपर्ने अवस्था छ, । ‘अन्डरपास बनेसँगै बल्खुबाट स्वयम्भूतर्फ जाने सवारीसाधन रोकिनु पर्नेछैन । चक्रपथ सडक सुधार योजनाले अन्डरपास बनेसँगै कलंकी क्षेत्रको ट्राफिक जाम हट्ने जनाएको छ । चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन गु्रपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो । प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार पारिएको हो ।

काठमाण्डौँ महानगर पालीका– १४ स्थित कलंकीको मुख्य चोकमा निर्माणाधीन यो अन्डरपास सडक नेपालकै पहिलो प्रोजेक्ट हो । पैदलयात्रु भने अन्डरपासबाट हिँडडुल गर्न पाउनेछैनन् । उनीहरूलाई सडक पार गर्न जेब्राक्रस राखिनेछ । चीन सरकारको ५१.२ करोड युआन (करिब ५ अर्ब रुपैयाँ) मा अन्डरपास निर्माण गर्न लागिएको हो । अन्डरपास निर्माणसँगै कलंकीमा सवारी जाम हट्ने मात्रै होइन, कलंकीकै रूप पनि फेरिने छ । नेपाल सरकार र चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपबीच सन् २०१२ मा कलंकी–कोटेश्वर (१०.३९ किलोमिटर) चार लेनको सडकलाई आठ लेनको बनाउने सम्झौता भएको थियो ।

सम्झौताअनुसार आठ लेनमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक, बाँकी चार लेन दुवैतर्फ सात–सात मिटरका दुई–दुई लेनका सहायक सडक बनाउने योजना छ । सडकबाहेक साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ बनाउने योजना रहेको थियो । सम्झौताअनुसार उक्त सडकखण्ड विस्तार २०१६ मे १५ मा सक्नुपर्ने थियो । तर, भूकम्प र नाकाबन्दीका कारण निर्धा्रित समयमा निर्माण सम्पन्न हुन सकेन । त्यसपछि फेरि सन् २०१७ मा एक वर्ष म्याद थपिएको थियो । उक्त अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि फेरि सन् २०१८ जुलाईसम्म म्याद थपिएको थियो ।

बल्खुदेखि खसीबजारसम्मको सडक चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रप र नेपाली ठेकेदार कम्पनी दुवैले निर्माण गरिरहेका छन् । ‘सांघाई कन्स्ट्रक्सन कम्पनीको आगामी असार मसान्तभित्रै म्याद सकिँदै छ । त्यसैले मनसुनको समय भएकाले मनसुन सकिएलगत्तै सडक फिनिसिङ गर्ने तयारी भइरहेको छ ।’ योजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डको भौतिक प्रगति ९३ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार चिनियाँ पक्षले आठवटा मोटरबल पुल र तीन वटा अकासेपुल तयार गरिसकेको छ ।

नेपाल सरकारको तर्फबाट सातवटा अकासेपुल निर्माण कार्य पनि भइरहेको छ । योजनाले कलंकी–कोटेश्वर सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा अकासेपुल निर्माण गर्ने तयारी गरेको छ । बालकुमारी, सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, सानेपा, बल्खु, खसीबजार लगायत स्थानमा अकासेपुल निर्माण गरिनेछ । योजनाका अनुसार एउटा अकासेपुल निर्माणका लागि साढे दुई करोड रुपैयाँ लाग्नेछ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्