प्रदेश १

मौसमविदले भने, नदी आसपासमा बसोबास गर्नेहरु सचेत हुनुहोस् ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। मनसुन सुरु भैसकेकाले नदी आसपासको क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । माथिल्लो भेगमा पानी परेपछि सानै खोलामा पनि बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बताए ।

उनका अनुसार अहिले तीन दिनको लागि ठूलो बाढी वा पहिरो आउने जोखिम नभएपनि माथिल्लो भेगमा पानी पर्दा तल्लो भेगमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ । यस्तै गएका वर्षहरुमा पहिरो धेरै जाने ठाउँमा पनि सतर्कता अपनाउन उनको सुझाव छ । शाखाले सोमबारदेखि ११५५ मा फोन गर्नेलाई कुन ठाउँमा बाढीको जोखिम छ भन्ने बारेमा जानकारी पनि दिने तयारी गरेको छ ।

यस्तै बाढी पहिरोको जोखिमबारे ७७ वटै जिल्लामा जानकारी दिने तयारी पनि भैरहेको छ । यसैबीच मनसुन सुरु भएकाले देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । पूर्व र मध्य क्षेत्रमा मनसुको प्रभावले र पश्चिममा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार शुक्रबार बेलुकी पूर्वमा प्रवेश गरेको मनसुन सोमबार बेलुकासम्ममा मध्य क्षेत्रमा फैलनेछ । त्यसपछि भने झरी सुरु हुने उनको अनुमान छ ।।