लाइसेन्सको आवेदन बन्द,  भरेको अनलाइन फारम पनि रद्द गरिने ।। (बिज्ञप्ती सहित )



सैघाली खबर, २७ जेठ।
यातायात व्यवस्था विभागले विभिन्न कार्यालयबाट लिँदै आएको लाइसेन्सको आवेदन लिने कार्य बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो ।

एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन भनेको हो । साथै असार महिनाका लागि भरिएका फारम पनि नलिन विभागले भनेको छ ।

हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिन विभागले कार्यालयहरुलाई निर्देशन दिएको छ । अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने कारण देखाउँदै विभागले लाइसेन्सको फारम लिन बन्द गरेको हो । विभागका प्रवक्ता तुल्सीराम अर्यालले फारम भरेकाहरुको ट्रायल लिन करिब १५÷२० दिन लाग्ने र त्यसपछिको अवधि यस आवको संकलित राजश्वको हिसाव मिलाउन लाग्ने जानकारी दिए ।

‘आर्थिक वर्षको अन्तिम महिना भएकाले अहिले लाइसेन्सको लागि आवेदन बन्द गरिएको हो’ उनले भने ‘नयाँ आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि निशन्देह रुपमा आवेदन लिन्छौँ ।’ साथै असार महिनाका लागि भरेको अनलाइन फारम पनि रद्द गरिने विभागले जनाएको छ । मुलुकभरबाट सरदर दैनिक झण्डै ५ हजारले लाइसेन्सका लागि आवेदन दिने गरेका छन् । एक महिनासम्म आवेदन लिने कार्य रोकिँदा झण्डै डेढ लाख सर्वसाधारण प्रभावित हुने भएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्