चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु



 

ठमाडौँ, २७ जेठ  प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ ।

एकताका लागि गठित कार्यदलको बैठक बसी पार्टीको निर्देशनअनुसार एकताको शुरुआत गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा रहेकोे समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले चाँडै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ । यसैगरी एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुवै संगठनका केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यही जेठ ३१ गते प्रेस चौतारी र आगामी असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीमा महासचिव राईले जानकारी दिनुभयो ।

बैठकमा चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराई, सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, चौतारीका अध्यक्ष गणेश बस्नेत र सेन्टरका अध्यक्ष महेश्वर दाहालको सहभागिता थियो । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र सबै भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउने निर्देशन दिएको छ ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्