राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित, ३३ प्रतिशत महिला पनि अनिवार्य ।।



सैघाली खबर, २७ जेठ।
राष्ट्रियसभा नियमावली, २०७५ आईतबार पारित भएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रियसभा नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए । राष्ट्रियसभा प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो ।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ । नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कारबाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए ।

उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई कारबाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे । नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ ।

नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ । बैठकमा राष्ट्रियसभाका विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिमै अघि बढाउन नियमावली पनि सर्वसम्मतिले पारित गर्नु परेको बताएका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आईतबार ११ बजे बस्नेछ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्