अचम्मका कुरा

संसार हल्लाउनेहरुको भेटः किम र ट्रम्प शिखरवार्ताका लागि सिङ्गापुरमा पुगे

By थाहा अनलाइन

June 11, 2018

सिङ्गापुर, २८ जेठ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन ।

उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले किम सितको यो बैठकलाई ‘एक पटकका लागि प्रयास’ भनेका छन । कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर गइसकेका छन । किमले विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा भने “सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्नेछ”।

यता अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर पुगेका छन । उनलाई स्वागत गर्न पुगेका सिङ्गापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताएका छन ।

दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेको बताएका छन । शिखर सम्मेलन जुन १२ अर्थात जेष्ठ २९ मा शुरु हुनेछ ।

यसैबीच सम्मेलनका लागि सिङ्गापुरमा हुने खर्च एक करोड ५० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ । खर्चबारे बोल्दै सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले खर्च एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताए ।

खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ । उनले सिङ्गापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित हुने बताए ।