कहाँ छौ सरकार तिमीः गोर्खाहरुको पहलमा गाउँमा विजुली झिलीमिली



सन्तोष गौतम
म्याग्दी, २८ जेठ
म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ ।

छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत सुविधा पुगेको हो ।

बेलायती र भारतीय पूर्व गोर्खा सैनिकको पहलमा गोर्खा वयलफेयर र कादुरी संस्थाको सहयोगमा निर्माण भएको सो परियोजनाबाट खिवाङका १७० घरधुरी लाभान्वित भएका स्थानीय अगुवा चित्रबहादुर पुनले बताए ।

रु दुई करोड चार लाख ५९ हजार ७४६ लगानीमा निर्माण सम्पन्न भएको सो परियोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्यूटर विषयमा पठनपाठन सञ्चालन गर्न सहज भएको छ ।

यसअघि सोलार र टुकीको भरमा रात कटाउँदै आएका खिबाङवासीको जीवनशैली सुधारका लागि लघु जलविद्युत परियोजना सहयोगी बनेको स्थानीयवासी थमबहादुर गर्बुजाले बताए ।

हालसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा नपुगेको धौलागिरि गाउँपालिकाको गुर्जा, मुना, मल्कवाङ, खिवाङ र मराङका बासिन्दा उज्यालोका लागि लघु जलविद्युत परियोजनामा निर्भर छन ।

गत साउनमा आएको पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत परियोजना र नहर पुरेपछि २ नम्बर वडामा पर्ने लुलाङका बासिन्दा अन्धकारमा रात कटाउन बाध्य छन ।

गाउँपालिकाले ७ नम्बर वडा धारापानीदेखि केन्द्रीय प्रशारण लाइन विस्तारको काम शुरु गरेको अध्यक्ष थमसरा पुनले बताए । रु ३२ लाख विनियोजित योजनाबाट धारापानीका १५० घरमा यसै वर्ष बिजुली बाल्ने योजना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्