अपहरणमा परेका बालकको गोली हानी हत्या, घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ



सैघाली खबर, २८ जेठ।
रौतहटको कटहरीया नगरपालिका ९ बाट गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरुसँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका थिए ।

कटहरीया नगरपालिकाभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका ५ को बाग्मती नदी किनारमा आज बिहान बालकको शव फेला परेको प्रहरीले जनाएको छ । बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए ।

अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव फेला परेको हो । बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार बिहान युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादव रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका पाँचै जनासँग घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्