उपमहानगरपालिकामा एमालेले खाता खोल्यो, घोराहीको मेयरमा एमालेका नरुलाल निर्वाचित



,दाङ असार १९, घोराही उपमहानगरपालिकामा विजयी हुँदै एमालेले ठूला नगरमा पनि खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नतिजा सार्वजनिक भएको घोराही पहिलो हो । दाङको सदरमुकाम रहेको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् ।

कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वाचित भएका छन् । उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वाचित भइन् । उनले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गरेकी छन् ।

 

२०२४ सालमा साविकको रामपुर गाविसमा जन्मिएका चौधरीले अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका हुन् । १२ वर्षको उमेरदेखि नै एमालेको राजनीतिमा होमिएका चौधरी बीचमा रेडियो नेपालको जागिरे थिए । २०५४ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचित भएपछि उनले रेडियो नेपाल छाडेका थिए ।

चौधरी २०५४ सालमै रामपुर गाविसको अध्यक्ष भएका थिए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवसमेत रहेका चौधरी ०६९ सालमा एमाले दाङको अध्यक्ष भएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्