बर्षेनि सडक दुर्घटना बढ्दै, एक बर्षमा दुई हजार बढीको मृत्यु, मोटरसाइकल दुर्घटना धेरै



सैघाली खबर, २८ जेठ।
सडक दुर्घटनामा परेर नेपालमा वर्षे्नि धेरैले ज्यान गुमाउने गरेका छन् । अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । सडक र भौगोलिक अवस्थाका कारणले पनि दुर्घटना हुने गरेका छन् । नेपालमा वर्षे्नि करिब १० हजार सवारी–साधन दुर्घटना हुने गरेको छ । दुर्घटनामा करिब दुई हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चार वर्षयताको मात्र तथ्यांक केलाउने हो भने पनि मृत्युको दर बढिरहेको छ । वि.सं. २०७१/०७२ मा दुई हजार चारजनाको मृत्यु भएकामा ०७२/०७३ मा दुई हजार ६ जना, ०७३/०७४ मा दुई हजार ३८४ जना तथा ०७४/०७५ को वैशाखसम्ममा दुई हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

चालक र सहचालकको लापरबाहीकै कारण अधिकांश दुर्घटना हुने गरेको पाइएको छ । त्यसैगरी, सडकको अवस्था, भौगोलिक बनावट र पुराना गाडीको प्रयोगले पनि दुर्घटना हुने गरेको छ । कतिय अवस्थामा यात्रीको लापरबाहीले पनि दुर्घटना हुने गरेको देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले सडकको स्तर र चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण रहेको बताए ।

सवारी नियम उल्लंघन गर्दा पनि धेरै दुर्घटना हुने गरेको तथ्यांक छ ।आममानिसमा ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । मानिसमा ट्राफिक नियमबारे चेतनाको विकास गर्न पाठ्यक्रममै ट्राफिक ज्ञान दिने व्यवस्था पनि गर्नुपर्ने प्रवक्ता थापा बताउँछन् ।

नेपालको भौगोलिक अवस्था पनि जटिल छ । पहाडी क्षेत्रमा कच्ची र साँघुरो सडकका कारण कतिपय दुर्घटना भएको देखिन्छ । त्यसैगरी, मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै पनि आएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्