दुर्घटना

बर्षेनि सडक दुर्घटना बढ्दै, एक बर्षमा दुई हजार बढीको मृत्यु, मोटरसाइकल दुर्घटना धेरै

By थाहा अनलाइन

June 11, 2018

सैघाली खबर, २८ जेठ। सडक दुर्घटनामा परेर नेपालमा वर्षे्नि धेरैले ज्यान गुमाउने गरेका छन् । अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । सडक र भौगोलिक अवस्थाका कारणले पनि दुर्घटना हुने गरेका छन् । नेपालमा वर्षे्नि करिब १० हजार सवारी–साधन दुर्घटना हुने गरेको छ । दुर्घटनामा करिब दुई हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चार वर्षयताको मात्र तथ्यांक केलाउने हो भने पनि मृत्युको दर बढिरहेको छ । वि.सं. २०७१/०७२ मा दुई हजार चारजनाको मृत्यु भएकामा ०७२/०७३ मा दुई हजार ६ जना, ०७३/०७४ मा दुई हजार ३८४ जना तथा ०७४/०७५ को वैशाखसम्ममा दुई हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

चालक र सहचालकको लापरबाहीकै कारण अधिकांश दुर्घटना हुने गरेको पाइएको छ । त्यसैगरी, सडकको अवस्था, भौगोलिक बनावट र पुराना गाडीको प्रयोगले पनि दुर्घटना हुने गरेको छ । कतिय अवस्थामा यात्रीको लापरबाहीले पनि दुर्घटना हुने गरेको देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले सडकको स्तर र चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण रहेको बताए ।

सवारी नियम उल्लंघन गर्दा पनि धेरै दुर्घटना हुने गरेको तथ्यांक छ ।आममानिसमा ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । मानिसमा ट्राफिक नियमबारे चेतनाको विकास गर्न पाठ्यक्रममै ट्राफिक ज्ञान दिने व्यवस्था पनि गर्नुपर्ने प्रवक्ता थापा बताउँछन् ।

नेपालको भौगोलिक अवस्था पनि जटिल छ । पहाडी क्षेत्रमा कच्ची र साँघुरो सडकका कारण कतिपय दुर्घटना भएको देखिन्छ । त्यसैगरी, मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै पनि आएको छ ।।