तीनसय महिलाको पाठेघर परीक्षण



पर्वत, २९ जेठ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ ।

ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका हुन् ।

स्थानीय माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको हो ।

शिविरमा चेकजाँचको क्रममा डेढ दर्जनभन्दा बढी महिलालाई शल्यक्रियाका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ ।

उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो । शिविरको उद्घाटन गर्दै जलजला–३ का वडाध्यक्ष देवेन्द्र भण्डारीले महिलामा लाग्ने रोगको कारण पत्ता लगाउनुपर्ने बताए । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा टीकाकुमारी गुरुङले महिलालाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गरिन् ।

उनले संसारमा महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर दोस्रो ठूलो रोग रहेको भन्दै पाठेघरमा हुने क्यान्सरको समयमै उपचार गरेमा रोग निको हुने बताइन् ।

पब्लिक हेल्थ नर्स कल्पना गुरुङले महिलामा हुने पाठेघर खस्ने समस्याको पहिचान गरेर उपचार गर्ने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिइन् ।

प्रदेश नं ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा सञ्चालन भएको शिविरमा जलजला गाउँपालिकाको विभिन्न वडाका महिलाले सेवा लिएका थिए । गाउँमै निःशुल्करुपमा उपचार गर्न पाएपछि विपन्न, दलित तथा जनजाति समुदायका महिला हर्षित बनेका थिए । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्