अमेरिका, ३० जेठ एएफपी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गरेका छन । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे ।
महासचिव गुथ्रेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने बिषयमा सफलता हासिल गर्न संयुक्त राष्ट्रसंघको सहयोग रहने बताएका छन ।
महासचिव गुथ्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात कोशेढुङ्गा सावित हुनेछ ।”
मङ्गलबार भएको ट्रम्प–किम सम्मेलनमा दुवै देशका नेताले हस्ताक्षर गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा प्योङ्याङले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न प्रतिवद्धता जाहेर गरेको छ ।
यद्यपि वक्तब्यमा आणविक कार्यक्रमलाई नष्ट गर्ने प्रतिवद्धता जनाइए पनि ‘प्रमाणित’ भन्ने शब्दावली भने समावेश छैन ।
सम्मेलनपूर्व महासचिव गुथ्रेसले प्रमाणित रूपमा आणविक निशस्त्रीकरण हुनु सम्मेलनको निर्दिष्ट लक्ष्य हुनुपर्ने भन्दै यसमा अन्तर्राष्ट्रिय आणविक शक्ति निकाय (आइएइए)ले काम गर्ने बताएका थिए ।
उत्तर कोरियाले पत्रकारहरूको उपस्थितिमा आणविक परीक्षण केन्द्रको नष्ट गरिने बताउदै विदेशी सञ्चारमाध्यमलाई निमन्त्रणा पठाएपछि राष्ट्रसंघ प्रमुखले उक्त स्थानमा अन्तर्राष्ट्रिय विशेषज्ञलाई बोलाइनुपर्ने बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।