काठमाडौँ, ३० जेठ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन । उनले आफू सरकारमा हुँदा गरेका गफहरुको बारेमा भने देउवाले केही बोलेका छैनन् ।
टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गरे, “पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?”
पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै सभापति देउवाले भने, “आफूलाई आवश्यक परे सहमति अनुसार भन्ने आवश्यक नभए विधान अनुसार चल्नुपर्छ भन्नु हुँदैन ।”
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै पहलमा नेपाल टे«ड युनियन काँग्रेसका धेरै माग संविधानमा लिपिबद्ध भएको बताउँदै सबैको सहभागिता हुने गरी राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग गरे ।
पार्टी उपसभापति विमलेन्द्र निधिले वर्तमान अवस्थामा नेपाल ट्रेड युनियन काँग्रेसमाथि श्रमिकका हकहितको प्रवद्र्धन गर्ने र सरकारले श्रमिकका अधिकारमाथि गर्नसक्ने कटौतीविरुद्ध संघर्ष गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी देखिएको बताए ।
महामन्त्री डा शशांक कोइरालाले काँग्रेसमा एकता कायम गर्न पार्टीभित्रका तिक्तता मेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिँदै त्यसका लागि आफू हैसियत अनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कृष्णप्रसाद सिटौलाले स्वतन्त्र न्यायापालिकाको आर्दश अनुसार न्यायाधीशले आफ्नो स्वाभिमान बचाउन दलका नेताका घर धाउन नहुने भन्दै सञ्चारमाध्यमले पनि सरकारका लगत कदम औँल्याएर विपक्षीको भूमिका खेल्न सक्नुपर्ने सुझाव दिए ।
प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा मुलुकका ठूला आन्दोलनमा तुलनात्मक रुपमा नेतृत्व विद्यार्थीहरुले गरेको स्मरण गर्दै आजको अवस्थामा श्रमिकको संख्या धेरै भएकाले श्रमिकले गर्नुपर्ने अवस्था आएको बताए ।
गगन थापाले काँग्रेसले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भने कुनै पनि आँच आउन नदिने दृढता व्यक्त गरे ।
२००३ सालमा नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा स्थापना भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।