सैघाली खबर, ३० जेठ।
ट्रााफिक प्रहरीले आजभोलि शंकास्पद स्मार्ट लाइसेन्स भेट्न थालेको छ । नक्कली हो कि भन्ने आशंका लागे पनि ट्राफिकलाई स्मार्ट लाइसेन्सको जाँच पनि आँखैका भरमा गर्नुपर्ने बाध्यता छ । आँखाले शंकास्पद ठहराएका लाइसेन्स ट्राफिकले बरामद गरेर यातायात व्यवस्था विभागमा जाँचका लागि पठाउँदै आएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीकाअनुसार स्मार्ट लाइसेन्स जाँचका लागि रिड गर्ने हाते मेसिन अब ट्राफिकका लागि अनिवार्य भइसक्यो । तर, सरकारले अहिलेसम्म ट्राफिक प्रहरी महाशाखालाई त्यस्तो मेसिन र प्रविधि दिएको छैन । विभागका प्रवक्ता तुल्सीराम अर्यालकाअनुसार हालसम्म झाण्डै ४ लाख स्मार्ट लाइसेन्स वितरण गरिसक्यो ।
प्रतीक्षामा रहेका झण्डै ३ लाख सेवाग्राहीलाई २ महिनाभित्र स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी भइरहेको छ । तर, सो स्मार्ट लाइसेन्स जाँच्ने मेसिन भने ट्राफिक प्रहरीको हातमा परेको छैन । जसले लाइसेन्सलाई स्मार्ट बनाउनुको कुनै औचित्य पनि प्रमाणित भएको छैन । नक्कली लाइसेन्सको विगबिगी भएपछि स्मार्ट लाइसेन्स प्रयोगमा आएको हो ।
तर, अब स्मार्ट लाइसेन्स पनि शंकास्पद किसिमका भेटिन थालेका छन् । वितरण सुरु गर्ने समयमा नक्कली भएका स्मार्ट लाइसेन्स ‘अन द स्पट’ पत्ता लगाएर जफत गर्न सकिने भनिएको थियो । तर, ट्राफिक प्रहरीलाई प्रविधिबाट विमुख गराएर त्यस्तो वातावरण तयार गरिएको छैन । विभागले स्मार्ट लाइसेन्सलाई जाँच्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन ट्राफिक प्रहरीको हातमा नदिँदा समस्या बढेको छ ।
ह्यान्ड होल्ड रिडर नभएपछि स्मार्ट लाइसेन्स चेक गर्न तथा त्यसमा ट्राफिकले नै कारवाहीको डाटा राख्न पाएको छैन । यसैकारण चालकलाई नियमन र निगरानी गर्ने अन्योलमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘कारवाहीको संकेत गर्न स्मार्ट लाइसेन्समा प्वाल पार्न मिल्दैन । त्यसैले हाम्रौ सिस्टममा कारवाहीको रेकर्ड राख्छौं,’ सहप्रवक्ता मरासिनीले भने,’विभागले स्मार्ट लाइसेन्सको सर्भरमा हामीलाई एक्सेस दिएको छैन । कतिपय विवरण राख्नुपरे विभागमै पठाउँछौं ।’
अहिले दैनिक रुपमा स्मार्ट कार्ड लाइसेन्स बोक्नेहरु पनि कारवाहीमा पनर्ने गरेका छन् । विशेष गरी लेन अनुशासन मिच्ने र मादक पदार्थ सेवन (मापसे) गर्नेलको लाइसेन्स चेक गर्न ह्याण्ड रिडर र अनलाइल लिंक नहुँदा समस्या परेको, छ ट्राफिक प्रहरीलाई । यस्ता लाइसेन्समा कारवाहीको रेकर्ड राख्न भने ट्राफिक प्रहरी विभागकै भर पर्नु परेको छ । राम्रोसँग व्यवस्थित गरियो भने स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् ।
तर, विभागले ट्राफिकलाई एकथान कम्प्युटर दिएपनि लाइसेन्स प्रणालीको अनलाइन लिंक दिएको छैन । स्मार्टकार्डमा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिन्छ ।
तर, अहिलेसम्म ट्राफिकसँग त्यसमा कारवाहीको रेकर्ड राख्न न सफ्टवेर लिंक छ, न स्मार्ट लाइसेन्सलाई स्पटमा नै पढ्न सक्ने कुनै मेसिन नै । त्यसै कारण स्मार्ट लाइसेन्सले ट्राफिक प्रहरीलाई कार्य सम्पादनमा समास्या ल्याउन थालेको अधिकारीहरु बताउँछन् । विभागले लामो समयदेखि अनलाइन लिंक र स्मार्ट लाईसेन्स रिडर प्रविधि दिने योजना रहेको बताए पनि अझै ढिलाइ गरिरहेको छ ।
विभागका एक अधिकारी भने ट्राफिक प्रहरीलाई ५ वटा हाते रिडर दिइएको दावी गर्छन् । यातायात व्यवस्था विभागले १ सय वटा ह्यान्ड रिडर खरिद गरिसकेको छ । तर, ल्याएर थन्किएको लामो समय भइसक्दा पनि वितरण गरिएको छैन । हृयाण्ड रिडर मेसिन मोबाइल जत्रै हुन्छ । यसमा कार्ड राखेर त्यसका डाटा हेर्न सकिन्छ । जिल्ला–जिल्लमाबाट पनि स्मार्ट लाइसेन्स वितरण भइरहेकाले अब त्यस्ता मेसिन मोफसलमा पनि अत्यावश्यक भइसकेको ट्राफिक प्रहरी बताउँछ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।