बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ बर्षको उमेरमा निधन भएको छ । गएराती २ बजे उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो । कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा समेत अभिनय गरेका छन् ।
हाँस्य टेलिफिल्म ’तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । थापा, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाण्डौ आएकि छिन् । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।
थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका उनको पार्थिव शरिरलाई राखिएको थियो । थापा कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए । खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका कलाकार भिमबहादुर थापा दोस्रो विश्वयुद्ध समेत लडेका थिए ।
सन् १९४२ देखि ४५ सम्म दोस्रो विश्वयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए । उनी २०४१ सालमा सैनिक सेवाबाट निवृत्त भएका थिए । नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ‘शाही नेपाली सैनिक’ कार्यक्रम सञ्चालनको मौका पाए । त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए । सैनिक सेवामा हुँदा नै उनले ‘के घर के डेरा’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए ।
थापाले करिब ६७ वटा ठूला फिल्म, १०० भन्दा बढी टेलिफिल्म र एक दर्जन नाटकमा अभिनय गरेका छन् । उनी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए । उनका श्रीमती, छोरा र दुई छोरी छन् । दुई विवाह गरेका थापाको कान्छि श्रीमतीको २०६० सालमै निधन भइसकेको छ । उनका छोरा प्रकाश थापा अमेरिकामा छन् ।।
https://www.youtube.com/watch?v=1DsYmg72XSE

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।