३१ जेठ, काठमाडौं
अमेरिकाले सन २०२० भित्र उत्तर कोरियाले परमाणु मुक्त गरेर देखाउनुपर्ने बताएको छ ।
दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘ठूलो रुपमा निरश्त्रीकरण‘ हामीलाई विश्वास छ यो लक्ष्यलाई अढाई वर्षभित्र हासिल गर्न सकिन्छ ।’उत्तर कोरियासँग अझै एक ठूलो काम गर्न बाँकी नै रहेको उनले बताए ।
अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुर समिटपछि आएको हो । सिंगापुरमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु निरश्त्रीकरण गर्ने सहमति भएको थियो ।
तर, उत्तर कोरियाले कहिले र कसरी परमाणु हतियार छाड्ने भन्ने स्पष्ट व्यवहोरा सार्वजनिक भइसकेको छैन । त्यसैले यो सम्झौता अस्पष्ट भएको भनेर आलोचना पनि भइरहेको छ ।
त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणुको खतरा नभएको बताएका थिए । तर यो दावीको विश्वसनीयतामा प्रश्न उब्जिएको छ । किनभने सम्झौता अनुसार उत्तर कोरियाले आफ्ना परमाणु हतियार र त्यसलाई प्रहार गर्ने मिसाइल आफूसँगै राख्ने छ । यसैगरी उत्तर कोरिया त्यस्तो कुनै प्रक्रियामा सहमत पनि भइसकेको छैन जसमा परमाणु हतियारबाट छुटकारा मिलोस ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।