सैघाली खबर, ३१ जेठ।
ललितपुरको जावलाखेल भएर एउटा गाडी तिब्र गतिमा दौडियो । ललितपुर ट्राफिक प्रहरीले रिङरोड भित्र तिब्र गतिमा सवारी चलाउन प्रतिबन्ध नै गरेको छ । कसैले तिब्र गतिमा सवारी चलाए कडा कारबाही हुने ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाथेछुले बताए । जवालाखेल चोकमा डिउटीमा रहेका ट्राफिक प्रहरीले तिब्र गतिमा दौडिरहेको बा.१४ प २१३१ नम्बरको गाडी रोक्न खोजे । तर गाडी नियन्त्रण लिन सकेनन् ।
ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर अगाडि बढेपछि तत्काल उनले हरिहरभवनको प्रहरीलाई फोन गरेर विदेशी जस्तो देखिने चालकले कुदाएको एउटा गाडी अनियन्त्रित गतिमा त्यता आउँदैछ । दुर्घटना हुनसक्छ नियन्त्रणमा लिनु भनेर जानकारी गराए । त्यसपछि तिब्र गतिमा हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो, त्यहाँ ट्राफिक तयारी अवस्थामा बसेको थियो । गाडी नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुकेर रोक्न इसारा गरे । तर, उक्त गाडी रोकिएन । अझै गति बढ्यो । यो कुरा ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम कहाँ पुग्यो । उनले तुरून्तै सर्कुलर गरे । ‘बा.१४ प २१३१ नम्बरको गाडी तिब्र गतिमा हरिहरभवनबाट अगाडि बढ्यो । नियन्त्रणमा लिनुहोला ।’
हरिहरभवनबाट अगाडि बढिसकेको गाडी रोक्नुपर्ने खबर बाटोमा पर्ने सबै डिउटीमा रहेका ट्राफिक प्रहरीमा पुग्यो । कुपन्डोलमा बसेका ट्राफिक प्ररहीले पनि गाडी रोक्न कोशिश गरे । तर पनि गाडी रोकिएन । गाडी गति बढाउँदै अगाडि थापाथलीतिर दौडियो । सडक जाम केही थियो । अन्ततः थापाथली ट्राफिकले उक्त गाडी नियन्त्रणमा लिन सफल भएको हाथेछुले जानकारी दिए । थापाथलीका ट्राफिकले उक्त गाडीका कागजपत्र मागे । लामो लामो कपाल भएको कालो चश्मा लागएका चालकले सोधे–के भयो? ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए ।
उक्त ट्राफिकले गाडीको नम्बर स्पष्ट नदेखिएको भनेपछि चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो सफा गर्न थाले लगत्तै जाममा परेका केही मोटरसाइल चालकले ऊ पारस भन्दै हल्ला गरे । जावलाखेल चोकबाट ट्राफिक नियम तोडेर अगाडि बढेका ती चालक पूर्व युवराज पारस शाह रहेछन् । ‘पारस भनेर कसरी चिन्ने, सिसा भित्रको चालक? फेरि हामीलाई सबै गाडीको नम्बर पनि थाहा हुन्न । कुनै विदेशी जस्तो लागेको थियो तर पारस रहेछन्,’ हाथेछुले भने,‘यदि चिनेकै भए पनि नियम मिच्ने सबैलाई कारबाही हुन्छ ।’
ट्राफिक प्रहरी वाकिटकीमा माथिल्लो निकायमा कुरा गर्न थाले । केहीछिन पछि पारसले ट्राफिकसँग आफ्ना ‘डकुमेन्ट’ फिर्ता मागे । तर ट्राफिकले केही समय लाग्ने भन्दै रोके । केहीबेर बसेपनि कागजपत्र हात नलागेपछि रिसाउँदै पारस गाडीमा बसेर मेरो कागजपत्र किन राखेको भन्दै कड्किए । त्यसपछि लाइसेन्स र ब्लुबुक छाडेर पारस माइतीघरतर्फ अगाडि बढे ।
त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम मिचेर गाडी चलाएको भन्दै नियमअनुसार लाग्ने पाँच सय रूपैयाँ जरिवाना गरेर उनको अंगरक्षकलाई कागजपत्र बुझाएको हाथेछुले जानकारी दिए । ‘गल्ती गर्ने सबैलाई कारबाही हुन्छ । हामीले केही समय यता रिङरोड भित्र तिब्र गतिमा सवारी चलाउन रोकेका छौ । यसो गर्दा सवारी दुर्घटनामा २५ प्रतिशत कमि आएको छ,’ हाथेछुले भने,’ सामान्य व्यक्ति मात्र होइन पहुँचवाला व्यक्तिलाई पनि नियम लाग्छ भन्ने यो उदाहरण पनि हो ।।’setopati

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।