मिना बुढाथोकी
सल्यान, १ असार । सल्यानमा काम शुरु गरेदेखि लामो समयसम्म पनि सम्पन्न नगरेका ठेकेदारहरुको नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको छ । जिल्लाबाट केन्द्रीय स्तरका काम संचालन गरि रहेका ३७ वटा आयोजनामध्ये समयमा काम सम्पन्न गर्न नसकेका २६ आयोजनाका काममा ठेकेदारले ढिलासुस्ती गरेको पाइएपछि नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
गृह मन्त्रालयको माग अनुसार ढिलासुस्ती गरेको ठेकेदारको सूची पठाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । मन्त्रालयको निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउनका लागि नाम संकलन गरेर गृहमा पठाएको उनले जानकारी गराए । यसरी ढिलासुस्ति गर्नेमा जिल्ला प्रशाशनको आप्mनै भवनको ठेकेदार पनि रहेको उनले बताए । २०६९ जेठ २ मा सम्झौता भई २०७० जेठ २ मा सम्पन्न गर्नु पर्ने योजनाको काम अझै ७० प्रतिशत मात्र सम्पन्न भएको छ । ठेकेदारको लापरवाहीले गर्दा यो योजना समयमा सम्पन्न हुन नसकेको बताईएको छ ।
‘जिल्ला प्रशासन कार्यालयको दुईवटा भवनको काम गर्ने क्रममा ठेकेदार बिचमा भागेकाले गर्दा काममा ढिलाई भएको हो, उनले भने ।’ प्रशासनले दिएको दबाब अनुसार अहिले ठेकेदारले काम गर्दै आएपनि सम्पन्न हुन अझै एक महिना लाग्ने देखिन्छ । काममा ढिलाई गरेका कारण कालो सूचीमा परेका ठेकेदारले २६ लाख भन्दा बढि जरिवाना तिर्न पर्ने भएको छ ।
ठेकेदारले कामलाई निरन्तरता दिएपनि समयमै सम्पन्न गर्न नसक्दा केही ठेकेदार कम्पनीले सरकारलाई जरिवाना समेत तिर्दै आएका छन । ठेकेदारले कामप्रति कम चासो दिई ढिलासुस्ती गरेका कारण स्थानीय प्रशासनले छिटो काम गर्न तिनिहरुलाई ताकेता गरेको छ भने गृह मन्त्रालयमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको सूची पठाएको छ ।
राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत खलंगा–सिमखर्क–जयतपानी–बालुवासंग्रही सडक निर्माणमा सन्तोषी÷लोहनी जेभी ठेकदार कम्पनीले काममा ढिलाई गरेको जिल्ला प्राबिधिक कार्यालय सल्यानका प्रमुख कृष्ण पण्डितले बताए ।
आर्थिक वर्ष ०७२।०६।२१ मा सम्झौता भई आर्थिक वर्ष ०७४।१२।२१ मा सम्पन्न गरि सक्नु पर्ने सडक निर्माण कार्यमा ढिलाई भएको कार्यालयले जनाएको छ । २१ करोड ७४ लाखको सो आयोजनाबाट ३२ किलोमिटर ७ सय मिटर काम गर्नु पर्नेमा ठेकेदारले अहिलेसम्म ६३ प्रतिशत मात्र काम सम्पन्न भएको उनले बताए ।
उनका अनुसार ठेकेदारले काम समयमा सम्पन्न नभएका कारण दैनिक ०।०५ का दरले १ लाख ८ हजार जरिवाना तिर्नु पर्ने छ । ‘आयोजनाको म्याद थप भएमा भने ठेकेदार कम्पनीले जरिवाना तिर्न पर्दैन । ठेकेदारले काम गरिरहेकाले म्याद थपका लागि केन्द्रमा पत्र पठाएका छौ’ उनले भने ।
ठेकेदारले काममा गरेको ढिलाईका कारण गर्मिको समयमा यात्रुहरु धु“लोले पुरिने मात्र नभई बर्षातमा हिलो हुने गर्दा आवत जावत गर्न समस्या हुने गरेको छ । छिटो काम गर्न ठेकेदार कम्पनीलाई कार्यालयले निर्देशन दिदै आएको छ ।
यस्तै सल्यानमा संचालित नौ वटा स्वास्थ्यचौकीका भवनमा लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्र, घाँजरीपिपल र हिवल्चा स्वास्थ्य चौकीको काममा ठेकेदारले ढिलासुस्ती गरेको भवन डिभिवन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले बताए ।
तुलसिपुर देखि सल्यानका विभिन्न ठाउ“मा संचालित सडक मर्मत, पर्खाल, पुल निर्माणमा ठेकेदारले गरेको बेवास्ताकै कारण ढिलाई भएको सडक विभाग दाङका प्रमुख बद्रि प्रसाद शर्माले बताए । उनले विभिन्न समयमा गरी सल्यानका लागि १७ योजना टेण्डर गरिएको जानकारी गराए । उनीहरुले काम गरेपनि तीब्रता दिन नसकेको उनले दाबी गरे ।
सिचाई डिभिजन कार्यालय सल्यानले तीन योजना मध्ये थारमारेको सिचाई आयोजना सामान ढुवानीमा हुने समस्याले गर्दा ढिलाई भएको जनाएको छ । टाटके सिचाई योजना सम्पन्न भैसकेको र अर्को रामपुर ठूलो कुलो सिचाई योजनाको ९५ प्रतिशत काम सम्पन्न भैसकेको कार्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।