प्य्ठान ३ असार । प्रहरी नियन्त्रणमा रहेका झिमरुक गाउँपालिकाका एक जोडीको आइतवार रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले नियन्त्रणमा लिएका एक जोडीको रहस्यमय तरिकाले मृत्यु भएको हो । झिमरुक गाउँपालिका–५, नेपानेका २३ वर्षीय शिरबहादुर जिसी र १७ वर्षीया सृष्टि जिसीको प्रहरी नियन्त्रणमा रहेकै बेला मृत्यु भएको बताइएको छ । हाडनातामा विहे गरेको भन्दै आफन्तले प्रहरी चौकी मच्छीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरीको मुद्दा फाँटमा मुद्दा लेख्दै गर्दा दुवै जनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि बचाउन नसकिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।
मच्छीबाट आउने क्रममा बाटोमा विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बान्ता गर्दा शिरबहादुरले विष सेवन गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकका आफन्तले प्रहरीको यातनाका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
उक्त घटनापछि मृतकका आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । उनीहरुले प्रहरीको लापरबाहीले घटना भएको भन्दै शव बुझ्न इन्कार गरेका हुन् । मृतकका आफन्तले सत्य, तथ्य छानविन गर्न र यातना दिने प्रहरीलाई कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।