प्रधानमन्त्री ओलीमाथी डण्डा लगाउनु पर्छः भीम रावल



४ असार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासन बस्न सुझाब दिएका छन ।

पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई बजेटको विरोध नगर्न निर्देशन दिँदै अनुशासनमा बस्न भनेपछि नेता रावल आक्रोसित भएका थिए । सांसद समेत रहेका नेता रावलले बैठकमा भने, “पहिले प्रधानमन्त्री अनुशासनमा बस्नुपर्छ, सांसदहरुलाई मात्र होइन नियम र अनुशासन तपाईँलाई पनि लागु हुनुपर्छ ।” एक सांसदका अनुसार नेता रावलले अनुशासनको डण्डा सांसदहरुमाथि होइन प्रधानमन्त्रीमाथि लगाउनु पर्ने धारणा राखेका थिए ।

सत्तारुढ दलकै सांसदहरुले बजेटबारे संसदमा देखिएको विरोधको स्वर पार्टी बैठकमा पनि देखिएको छ । नेताहरुले प्रधानमन्त्री ओलीले गैर राजनीतिक व्यक्तिलाई अर्थमन्त्री बनाउँदा बजेटले जनताको मन छुन नसकेको बताउँदै आएका छन ।

शनिबारको स्थायी कमिटी बैठकमा दोस्रो अध्यक्ष पुष्पकमल दाहालले पनि बजेटको आलोचना गरेका थिए । संसदीय दलको बैठकमा अर्थमन्त्री युवराज खतिवडाको बचाउ गरेको दाहालले पार्टी बैठकमा भने त्यसको चर्को विरोध गरेको बताइएको छ । उनले अर्थमन्त्री राजनीतिक व्यक्ति नभएकै कारण बजेट लथालिंग भएको बताए ।

शनिबार सांसदहरुले चर्को विरोध गर्न थालेपछि बैठक हतारमा संसदीय दलको बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्माओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिँदै दुईचार जनाले आक्रोस पोख्दैमा केही नहुने समेत धम्की दिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्