सैघाली खबर, ५ असार ।
धनी देशका राष्ट्रप्रमुख चढ्ने आफ्नै विमान हुन्छन् । राष्ट्रप्रमुखले चढ्ने विमान भएपछि उनीहरुलाई विदेश भ्रमणमा जाँदा विमानको बन्दोबस्तका बारेमा सोच्दै पर्दैन । त्यस्ता विमानले सर्वसाधारण नागरिकलाई ओसार्दैनन् । राष्ट्रप्रमुखको भ्रमणका लागि छुट्टै विमान नहुने देशका राष्ट्रप्रमुख प्रायजसो राष्ट्रिय ध्वजावाहक विमानमार्फत विदेश भ्रमणमा जाने गर्छन् ।
जसले एकातिर सरकारले राष्ट्रिय विमानलाई विश्वास गरेको ठहर्छ भने अर्का्तिर त्यसले ध्वजावाहकको बजार प्रवर्द्धन गर्न पनि मनग्य सघाउँछ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने चीन भ्रमणका लागि राष्ट्रिय ध्वजाबहाक नेपाल एअरलाइन्सलाई पाखा लगाएर निजी कम्पनी हिमालयन एयरलाइन्समार्फत चीन गएकोमा आलोचना भएको छ ।
हिमालयप्रतिको मोह पुरानै
पहिलोपटक प्रधानमन्त्री भएका बेला २०७२ सालको चैतमा चीन भ्रमणमा जाँदा पनि ओलीले हिमालयन एअरलाइन्स नै रोजेका थिए । अझ, त्यतिबेला त यो कम्पनीले विमान काठमाडौं ल्याएको एकहप्ता मात्र भएको थियो । परिक्षण उडान नै नगरेको कम्पनी र विमान रोज्दा धेरै कुराको जोखिम हुने भन्दै आलोचना भएको थियो । त्यतिबेला सार्वजनिक खरिदको विवादमा तानिने डरले प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाटै निर्णय गराएर हिमालयन एयरलाइन्सको परीक्षण उडानमै चीन गएको थिए ।
हिमालयन एअरलाइन्समा आङछिरिङ शेर्पासहित नेपाली लगानीकर्ताको ५१ प्रतिशत र तिब्बत एअरलाइन्सको ४९ प्रतिशत लगानी छ । शेर्पा तिनै व्यापारी हुन् जसको परिवारको स्वामित्वमा रहेको पासाङल्हामु शेर्पा प्रतिष्ठानको घरमा तत्कालिन नेकपा एमाले र अहिले नेकपाको केन्द्रिय कार्यालय रहेको छ । प्रधानमन्त्री ओली र तत्कालीन एमालेलाई व्यवसायी शेर्पाले सहयोग गर्ने गरेका छन् ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय ध्वजावाहक विमानलाई छाडेर नीजि एयरलाइन्स कम्पनीबाट गएकोमा आलोचना भइरहेको छ । तर नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने प्रधानमन्त्री नेपाल एयरलाइन्सबाट चीन गएको भए हंगामा मच्चिने दावी गर्छन् ।
निगमले महिनौं पहिलेदेखि उडानको तालिका बनाएको हुनाले यो तालिका तलमाथि गरेर प्रधानमन्त्रीलाई चीन लैजान अफ्ठेरो भएको उनले बताए । ‘यसै त हाम्रो विमानले बेलैमा उडान गर्दैन भन्ने आरोप छ, त्यसमाथि हामी चीन गएको भए, यात्रु अलपत्र पर्थे, यता अर्को हंगामा मच्चिन्थ्यो महाप्रवन्धक कंसाकारले भने, ‘हामीसँग पर्याप्त जहाज भएको भए हामीले पनि फोर्स गर्न सक्थ्यौं, तर अहिले हामीसँग नियमित उडानका लागि तालिका प्याक भएकाले फोर्स गर्न सकेनौं ।’
तर निगमकै एक उच्च तहका कर्मचारीका अनुसार प्रधानमन्त्री कार्यालयबाट निगमको विमानले प्रधानमन्त्रीसहितको टोली बोकेर चीन जान भ्याउँछ कि भ्याउँदैन भनेर औपचारिक रुपमा सोध्दै सोधेन । ‘औपचारिक पत्र आएको मलाई थाहा छैन, यदी प्रधानमन्त्रीले चाहेकै भए नेपाल एयरलाइन्सले वैकल्पिक उपाय लगाएर भएपनि विमान उपलब्ध गराउन सक्थ्यो’ उनले भने । निगमले अहिले दुईवटा एयरवस र एउटा बोइङमार्फत ८ वटा गन्तव्यमा उडान गरिरहेको छ ।।ujyaalo

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।