राजनीति पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु : देउवा



हेटौँडा ५ असार,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताएका छन्। नेपाली कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा बोल्दै सभापति देउवाले पार्टीमा देखिएका समस्या समाधान गर्दै एक ढिक्का बनाएर लैजाने बताएका हुन्। उनले पार्टीभित्रका केही जायज असन्तुष्टिलाई सम्बोधन गर्न तयार रहेको बताउँदै पार्टी हारको कारण दुई कम्युनिस्ट पार्टीको एकता र कांग्रेसभित्रको अन्तरघात भएको बताए। उनले महासमिति बैठकमार्फत विधानमा रहेका समस्या समाधान गरिने बताए। उनले कांग्रेसको हारले लोकतन्त्र खतरामा परको बताउँदै लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेस बलियो हुनु जरुरी रहेको बताए। उनले कम्युनिस्ट शासनबाट जनताको हित नहुने कुरा आकाशिएको मूल्यवृद्धिले देखाएको जिकिर गरे। कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिष्ट पार्टीको एकताबाट भन्दा पनि पार्टीभित्रको समस्याले आफूलाई बढि डर लागेको बताए। पार्टी भित्रको समस्या समाधान गर्न सके नेपाली कांग्रेसलाई हराउने ताकत कसैसंग पनि नरहेको उनको भनाई थियो। उनले पार्टीभित्रको समस्या समाधानको जिम्मेवारी नेतृत्वको भएको भन्दै बोलीमा भन्दा व्यवहारमा एकताको खाँचो रहेको बताए। उनले यसका लागि गम्भिर ढंगले सुझाव दिन जिल्ला सभापतिहरूलाई आग्रह गरे। कांग्रेस उपसभापति विमलेन्द्र नीतिले पाँच वर्षभित्र पार्टीलाई विजय उत्सव मनाउने अवस्थामा पुर्याउने दावि गर्दै एकताका लागि दुबै नेताहरूलाई आव्हान गरे। उनले कांग्रेस निरासा र निन्द्राबाट व्युझनु जरुरी रहेको उनको भनाई थियो। कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टीभित्रको एकता कायम गर्न आफू जस्तो सुकै योगदान दिन तयार रहेको बताए। उनले गुट उपगुट समाप्त गरी अघि बढ्नु जरुरी रहेको भन्दै यसका लागि सबैको भूमिका आवश्यक रहेको बताए। कार्यक्रममा महामन्त्री सशांक कोइरालाले पार्टी भएर अघि बढेको देख्न चाहेको भन्दै बामपन्थीको एकताले कांग्रेसलाई कुनै असर नगर्ने बताए। तीन दिनसम्म चल्ने जिल्ला सभापतिहरूको भेलामा ७७ जिल्लाका जिल्ला सभापति र केन्द्रीय कार्यसमिति गरी ३०० प्रतिनिधि रहेको स्थानीय संयोजक समितिका संयोजक इन्द्रबहादुर बानियाँले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्