काठमाडौँ, ५ असार वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गर्नुभएको थियो । श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिनुभएको थियो ।
पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १ः०० बजे शवयात्रासहित पशुपति पु¥याइएको थियो । उहाँको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठूलो संख्यामा अस्पताल पुगेका थिए । डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरुले गर्ने अस्पतालले जनाएको छ । विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करीब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रुपमा बिताउनुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।