दाङमा एमाले ५, कांग्रेस ३, माओवादी १ मा विजयी तुलसिपुर उपमहानरपालिकामा भने मत गणणा जारी



जनक नेपाली

दाङ,असार २१। १० वटा स्थानीय तह रहेको दाङमा १ उपमहानगर, १ नगर र ३ वटा गाउँपालिकामा एमालेले विजय हाँसिल गरी जिल्लामा धेरै तह जित्ने पार्टीमा एमालेले आफूलाई दर्ज गरेको छ । त्यसैगरी काङ्ग्रेसले ३ वटा गाउँपालिका र माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजय हाँसिल गरेका छन् भने हाल सम्म तुलसिपुर उपमहानगरपालिको  मतगणना जारी रहेको छ ।

एमालेले दाङको घोराही उपमहानगर, लमही नगरपालिका, गढवा गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा विजय हाँसिल गरेको छ । त्यस्तै कांग्रेसले शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकामा विजय हाँसिल गरेको छ भने माओवादी केन्द्रले बंगलाचुली गाउँपालिकामा विजय हाँसिल गरेको छ ।

 

घोराही उपमहानगरमा नरुलाल

घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट चुनावी प्रतिष्पर्धामा होमिएका चौधरीले कांग्रेसका भुपबहादुर डाँगीलाई ४५४६ मतले पछि पार्दै घोराही उपमहानरको प्रमुखमा विजयी भएका हुन् ।

चौधरीले २२०३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १७४८४ मत प्राप्त गरेका थिए । प्रमुख पदमा नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२०८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिए ।

त्यस्तै राप्रपाका भोलानाथ योगीले ११३६, नेकपा मालेका नेत्र प्रसाद पाण्डेले ४११, राष्ट्रिय जनमोर्चाका रामबहादुर घर्तीले  ३९९, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उर्मिला चौधरीले १७२, नयाँ शक्ति नेपालका जगतबहादुर पुनले ११७, देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवार सुशीला आचार्य बैद्यले ८१,  राष्ट्रिय जनमुक्ति पार्टीका खिमबहादुर नेपालीले ५०, नेपाल परिवार दलका होमबहादुर सिजवालले २२, स्वतन्त्र गुरुप्रसाद गौतमले ४ र अर्का स्वतन्त्र उम्मेदवार द्रोणराज भण्डारीले ० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खड्काले बताए ।

उपमेयर पदमा नेकपा एमालेकी सीता न्यौपानेले २०७९२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्पा श्रेष्ठले १७६०३ मत प्राप्त गरेकी छिन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी सीता चौधरीले १२८२४ मत, राप्रपाकी प्याउलीदेवी खत्रीले ७३२, मालेकी लिला विश्वकर्माले ४५१, राष्ट्रिय जनमोर्चाका कमला विश्वकर्माले ४४८, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका द्रोणबहादुर बस्नेतले २१२, नयाँ शक्तिका निर्मला विकले १७१, स्वतन्त्र ठाकुर प्रसाद महराले १३० स्वतन्त्र उम्मेदवार तिलकबहादुर विश्वकर्माले ७२, स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा १० र रमेश कुमार आचार्यले ० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खड्काले बताए ।

 

बंगलाचुलीमा भक्त वली

बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर वलीले निकटतम प्रतिद्वन्दी कांग्रेसका भोजराज पाण्डेलाई ८३७ मतको अन्तरले पराजित गरेका हुन् । विजयी वलीले ३३५२ मत प्राप्त गरेका छन् भने पाण्डे २५१५ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका यमुना घर्तीले ३३७१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका निर्मला खनालले २५६९ मत ल्याएका छन् । गाउँपालिका अध्यक्ष जितेका वली माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् । २०४९ सालमा संयुक्त जनमोर्चाबाट र २०५४ सालमा एमालेबाट लोहारपानी गाविस अध्यक्ष बनेका उनी त्यस क्षेत्रका लोकप्रिय नेता हुन् ।

जम्मा ११ हजार ४ सय ७ मतदाता रहेको बंगलाचुलीमा ८ हजार ३ सय ४ मत खसेको थियो । ८ वटा वडा रहेको बंगलाचुलीमा ६ वटा वडामा माओवादीले, १ वटा कांग्रेस र १ वटा एमालेले जितेका छन् । जसअनुसार वडा नं. १ मा कांग्रेसका पदमबहादुर खत्री, २ मा माओवादीका मेघराज रानामगर, ३ मा शोभाराज विक, ४ मा नारायण डाँगी, ५ मा यनुराज खत्रीले जितेका छन् । त्यस्तै वडा नं. ६ मा एमालेका बेदुलाल घर्तीमगरले जितेका छन् भने वडा नं. ७ मा माओवादीका गिरबहादुर थापा र ८ मा माओवादीकै गिरिराज बाँठाले जित हात पारेका छन् ।

लमहीमा कुलबहादुर

दाङको लमही नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका हुन् । कांग्रेसका आधिकारिक उम्मेदवार जोगराज चौधरीलाई ८३ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न सफल भएका हुन् । केसीले ५१५२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ५०६९ मत पाए । माओवादी केन्द्रकी उम्मेदवार द्रोपदा पौडेलले ४०८१ मत पाइन् । कांग्रेसका बागी उम्मेदवार डिल्लीबहादुर खड्काले २३९ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसको जित  लमहीको मेयर एमालेले जित्दा उपमेयरमा भने कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएकी छन् । उनले एमाले उम्मेदवार मीना गुरुङलाई १७२ मत अन्तरले हराइन् । बेल्बासेले ५०१५ मत पाएकी छन् भने गुरुङले ४८४३ मत पाएकी छन् । माओवादीको उपमेयर उम्मेदवार कालुराम चौधरीले ४०४२ मत पाए ।

दंगीशरणमा भागीराम

दाङको दंगीशरण गाउँपालिका प्रमुखमा एमाले विजयी भएको छ । एमालेका भागिराम चौधरी ३१६१ मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेसका यज्ञनारायण आचार्यलाई रोकेर चौधरी विजयी भएका हुन् । आचार्यले २८४१ मत ल्याएका छन् ।उपप्रमुखमा भने कांग्रेसकी पीमा खड्का ३०६७ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सिमा न्यौपानेलाई २९४१ मतमा रोक्दै खड्का विजयी भएकी हुन् ।

 

शान्तिनगरमा कमानसिंह

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शान्तिनगरको अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको हो । कांग्रेसका कमानसिंह डाँगी ३८५२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुबहादुर केसीलाई ९२८ मत अन्तरले हराए । केसीले २९२४ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार नेवबहादुर रोकाको पक्षमा २८३७ मत परेको छ ।यसैगरी उपाध्यक्षमा निर्वाचित कांग्रेसकै मिथिला शाहले माओवादी केन्द्रकी उम्मेदवार राधिका परियारलाई ७६७ मत अन्तरले हराइन् । शाहले ३८९४ र परियारले ३१२७ मत पाएकी छन् । एमालेकी उपाध्यक्ष उम्मेदवार खिमा पाण्डेले २९५९ मत पाइन् ।

राजपुरमा लोकराज

दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । राजपुरको अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको हो । कांग्रेसका लोकराज केसी २३९५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामबहादुर झाँक्रीले १८५८ मत पाएका छन् । एमालेका उम्मेदवार कुलराज गिरीको पक्षमा १७८१ मत परेको छ ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै धनपतिदेवी यादवले २२७३ मत लिई विजयी भएकी छिन् भने माओवादी केन्द्रकी उम्मेदवार पुष्पा यादवले १९४९ मत पाएकी छन् । एमालेकी उपाध्यक्ष उम्मेदवार सीता यादवले १७५४ मत पाइन् ।

गढवामा सहजराम

दाङको गढवा गाउँपालिकामा एमाले विजयी भएको छ । गढवाको अध्यक्ष र उपाध्यक्ष दुबै पद एमालेले जितेको हो । एमालेका सहजराम अहिर ३६७७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले ३३०४ मत पाएका छन् । कांग्रेसका उम्मेदवार श्रीपत चौधरीको पक्षमा ३०२१ मत परेको छ ।यसैगरी उपाध्यक्षमा एमालेकै शान्ति चौधरीले ३५३५ मत लिई विजयी भएकी छिन् भने कांग्रेसकी सकुन्तला डिसीले ३४३० मत पाएकी छिन् । त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार रमाकुमारी चौधरीले ३१९७ मत पाएकी छन् ।

 

राप्तीमा नुमानन्द

दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । राप्तीको अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको हो । कांग्रेसका नुमानन्द सुवेदी ४७९७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामेश चौधरीले ३९४२ मत पाएका छन् । एमालेका उम्मेदवार खिमबहादुर केसीको पक्षमा ३५५७ मत परेको छ ।

उपाध्यक्षमा कांग्रेसकै जगदम्बाकुमारी चौधरीले ४५८२ मत लिई विजयी भएकी छिन् भने एमालेकी उपाध्यक्ष उम्मेदवार हिमाली न्यौपानेले ४०४४ मत पाएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार भगवता अधिकारीले ३९२३ मत पाइन् ।

बबईमा भुवनेश्वर

दाङको बबई गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । बबईको अध्यक्ष र उपाध्यक्ष दुबै पद एमालेले जितेको हो । एमालेका भुवनेश्वर पौडेल ४२७१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुलबहादुर खत्रीले ३९५९ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुशील खड्काको पक्षमा २५४१ मत परेको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले ४४१० मत लिई विजयी भएकी छिन् भने कांग्रेसकी उपाध्यक्ष उम्मेदवार देवकुमारी केसीले ३९३५ मत पाएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार उर्मिला वलीले २३६८ मत पाइन् ।

 

तुलसीपुरमा मतगणना जारी, प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस अगाडि

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा एमालेका घनश्याम पाण्डेले अग्रता लिएका छन् भने उपप्रमुखमा कांग्रेसका देवका नेपालीले अग्रता लिएकी छिन् ।मतगणना अनुसार प्रमुखमा घनश्याम पाण्डेले १६५७३प्राप्त गरेका छन् भने कांग्रेसका गेहेन्द्र गिरीले १४३४३मतसहित दोस्रो अवस्थामा छन् । त्यस्तै माओवादी केन्द्रका शेषुराम भण्डारीले ५६११मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुख पदमा कांग्रेसकी देवका नेपालीले १५५९६ मत प्राप्त गरेकी छिन् भने एमालेकी माया आचार्यले १४९३७ र माओवादी केन्द्रकी सीता वलीले ५८१० मत प्राप्त गरेकी छिन् । कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ जना रहेको दाङमा स्थानीय तह निर्वाचनमा जम्मा २ लाख १८ हजार ३ सय ३९ मत खसेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्