असार ७ , पर्वत । एक सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनीयाँ लगानीमा निर्माण हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेईजिङ स्थित नेपाली दुतावासमा आयोजनाको प्रर्वद्धक र चिनीया कम्पनीबीच लगानीको सम्झौतामा हस्ताक्षर भएको हो। हाईड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाईड्रो पावर प्रालीका प्रतिनिधिबीच लगानी सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको कालीगण्डकी गर्जले गति लिने अपेक्षा गरीएको छ। म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्ने उद्देश्यले वि।स २०६३ मा आयोजनाको सर्वेक्षण भएको थियो। लामो समयदेखि प्रतिक्षामा रहेको कालीगण्डकी गर्जमा चिनीयाँ लगानी भित्रिएको हो २०६८ पुष १९ गते उत्पादन अनुमतीपत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पुरा नगरेपछि लाईसेन्स नै रद्द भएको थियो। पुरानो लाईसेन्स रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुन सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो। सन २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने पहिलेको लक्ष्य थियो। मुस्ताङको थासाङ गाउँपालीकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीको हालसम्मकै ठूलो हो। पाँच किलोमिटर सुरुङ रहने आयोजना रन अफ द रिभर प्रकृतीको हो। २५ अर्ब रुपैया लागत अनुमान गरिएको आयोजनाले नारच्याङमा तिन करोड रुपैयाँ मुआब्जा दिएर तिन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।