सैघाली खबर, ७ असार ।
लाखौं रुपैयाँको लगानीमा सेती नदीमा बनाइएको काठेपुल नदीले बगाएको छ । स्थानीय तहले बनाएका काठेपुल ४ महिना नपुग्दै सेतीले बगाएको हो । सेती नदीमा रहेका अस्थायी पुल बगेपछि केही महिना गाडी सञ्चालन भएको जिल्लाको आधाभन्दा बढी भूगोल र जनसंख्या रहेको सेतीपारीको क्षेत्र फेरि यातायात सम्पर्क्बिहीन भएको छ ।
‘दुईचार महिना सुविधा पाएका यहाँका बासिन्दा फेरि पुरानै अवस्थामा फर्किएका छन्’ स्थानीय मष्टा गाउँपालिकाका प्रशान्त कठायतका भन्छन्, ‘बर्से्नि पैसा मात्र बगाउँछ, वर्षभरी गाडी चढ्न पाइने कहिल्यै होइन ।’ गाडी चलेको बेला ल्याएको सामान अहिले महंगो मूल्यमा बिक्रि भैरहेको उनको भनाई छ । मष्टा गाउँपालिकाले झण्डै २५ लाख खर्च गरेर सम्देउ र कपडे भन्ने ठाउँमा दुईवटा काठेपुल निर्माण गरेको थियो ।
यस्तै तल्कोट गाउँपालिकाले सेती नदीको रुपातोला भन्ने ठाउँमा र थलारा गाउँपालिकाकाले झनाना भन्ने ठाउँमा बनाएका काठे पुल पनि वैशाख महिनामै नदीले बगाईसकेको छ । यी सबै पुल निर्माणको लागि स्थानिय तहले ५२ लाख रुपैयाँभन्दा धेरै खर्च गरेका थिए । बझाङका स्थानीय तहले हरेक हिउँदमासेती नदीमा अस्थायी पुल अस्थायी पुल बनाउनका लागि प्रतिष्पर्धा नै गर्ने गरेका छन । यस्ता पुलमा मंसिरदेखि वैशाखसम्म मात्र गाडी चल्छ । नदीमा पानीको बहाव थोरै बढ्ने बित्तिकै पुल बगाएर लैजान्छ ।
पक्की पुल बनेन
अस्थायी पुलका लागि स्थानिय तह र अन्य बिभिन्न निकायबाट वर्षेनी लाखौ रुपैया विकास बजेट खर्च हुने गरेको छ । अर्काेतिर सेतीपारीको भूगोललाई यातायात सञ्जालमा जोड्नका लागि भनेर ठेक्का लगाइएका पक्की पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन । सदरमुकाम चैनपुर नजिकै रहेको पानकोटमा निर्माण हुन थालेको पक्की पुल अहिलेसम्म बन्न सकेको छैन । यस्तै तमेल र झनानामा निर्माण गर्न लागिएका पक्की पुलको काम समेत अलपत्र अवस्थामा छ ।
गाउँपालिका भित्रका प्रायः सबै गाउँहरुमा सडक सञ्जाल पुगिसकेको तर पक्की पुल नबनेका कारण गाडी नचलेकोले आफूहरु अस्थायी पुलमा विकास बजेट खर्च गर्न बाध्य भएको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए । उनले भने ‘पक्की पुल बनेको भए त्यो रकमले अन्य काम हुन्थ्यो होला । पुल बन्ने कहिले हो कहिले ? अत्तो पत्तो नै छैन ।’ एकातिर अस्थायी पुलमा वर्षेनी लाखौं रकम बगिरहेको छ भने अर्काेतिर ठेक्का भएर काम सुरु भैसकेका पक्की पुलहरु समयमा बन्न सकेका छैनन ।
सेती नदीको पानकोट, तमैल र झनानामा तीनवटा मोटरपुल निर्माणको काम ३ वर्षअघि नै सुरु भएको भए पनि निर्माण कम्पनीको सुस्तताका कारण कुनै पनि सम्पन्न हुन सकेका छैनन । जिल्ला समन्वय समितिको खर्चमा पानकोटमा निमार्णाधीन पुलको ठेक्का अवधी गएको असारमा सकिएको थियो । जागृति निर्माण सेवाले निर्माणको जिम्मा लिएको यस पुलको निर्माण सम्पन्न गर्नका लागी जिल्ला समन्वय समितिले ६ महिना म्याद थप गरे पनि काम सम्पन्न हुन सकेन ।
सेती नदीकै तमैलमा निर्माणाधिन पुल तीन वर्ष्भित्र सम्पन्न गर्ने शर्तमा केएच कन्ट्क्सन प्रालिले ठेक्का प्राप्त गरेको थियो । ठेक्काको अवधी यही ०७५ साल पुस मसान्तमा सम्पन्न हँदैछ । ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने यस पुलको काम हालसम्म पनि सुरु हुन सकेको छैन । यस्तै तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा स्वीकृत भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको कुनै पनि काम हालसम्म सुरु हुन सकेको छैन । यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का भने नवीकरण गरिरहेको छ । यस विषयमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयबासिन्दाको आरोप छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।