असार ७ । आज २१ जून, अर्थात् अन्तराष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघले आजको दिनलाई योग दिवसका रूपमा घोषणा गरेपछि विविध कार्यक्रम गरेर मनाउँदै आएको छ । दिवसको अवसरमा पतञ्जली योग समितिले तुलसीपुरमा पनि कार्यक्रम गरेको छ । बिहान तुलसीपुरमा प्रभात फेरी गरिएको थियो भने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो ।
योग भारत वर्षमा हजारौं वर्षदेखि जीवनशैलीको अभिन्न हिस्सा बनेर रहेको पाइन्छ । जुन अहिले विश्वभर फैलने क्रममा छ ।
योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।
योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्नसक्छ । शारीरिक एवं मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदि अनेकौं पक्षसँग यसको सम्बन्ध हुन्छ । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगका रूपमा बुझिन्छ । वास्तवमा योगको उद्देश्य भनौं वा अर्थ जीवात्मालाई परमात्मासँग जोड्नसक्ने बनाउनु हो । यसरी जीवात्मा र परमात्मालाई जोड्ने क्रिया नै वास्तविक अर्थमा योग हो ।
यौगिक क्रियाको सर्वप्रथम वैज्ञानिक व्याख्या गर्ने व्यक्ति पतञ्जली हुनुहुन्छ । उहाको ग्रन्थ ‘योगसूत्र’ अहिले संसारका सबैजसो भाषामा अनुवाद भइसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।