सवारी व्यवस्थापनका लागि जीपीएस प्रणाली लागू हुदै



सैघाली खबर, ७ असार ।
काठमाडौं महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तराष्ट्रिय स्तरको जीपीएस प्रणाली लागू गर्नका लागि अध्ययन सुरु गरेको छ । राजधानी काठमाडौंमा बढ्दो सवारीसाधनको संख्यासँगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जीपीएस प्रणालीको अध्ययन सुरु गरेको हो ।

जीपीएस प्रणाली लागू भएपछि जथाभावी बस स्टप गर्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धा्रित बस स्टपमा यात्रुले सवारी साधन आगमनको यथार्थ विवरण थाहा पाउन सकिने विश्वास लिइएको छ । यसले यात्रुहरुलाई सुविधा पुग्नुको साथै अव्यवस्थित सवारी चापलाई कम गरी सवारी सुशासन कायम गर्न सकिने विश्वास महानगरले लिएको नगरपालिकाका कार्यकारी प्रमुख यादवप्रसाद कोइरालाले बताए ।

महानगरले विशेष गरेर सडक सुशासन कायम गर्दै प्रभावकारी सार्वजनिक यातायातका लागि अन्तराष्ट्रिय स्तरका गाडी सञ्चालन गर्ने बारेमा पनि छलफल अघि बढाएको उनको भनाइ छ । बिहीबार राजधानीमा आयोजित ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले ट्राफिक लाइट व्यवस्थापन र सडक सुसासनमा महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गर्न महानगर तयार रहेको पनि जानकारी दिए ।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सवारी व्यवस्थापन सम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७४ साउनदेखि २०७५ जेठसम्म नेपालभर ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका छन् । ती मध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन् । यो अवधिमा भएको सवारी दुर्घटनामा मुलुकभर २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्