सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत समातिए



सैघाली खबर, ७ असार ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय शम्भुप्रसाद चालिसे छन् ।

११ साउन ०७१ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला उनले शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो । लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको सैबुस्थित सिघीपार्क गणेश मन्दिरबाट उनलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

त्यस मुद्दामा सर्वोच्च अदालतले २० चैत्र ०७४ मा उनलाई १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गर्दै फैसला सुनाएपछि उनी फरार भएका थिए । उनलाई खोजी गर्ने क्रममा बिहीबार कलंकीबाट सीआईबीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्