दिपक बोहरा,
तुलसीपुर ८ असार ।
सरकारलाई तलब बढाउनका लागि दवाव शिर्जन गर्न बिद्यालय कर्मचारी परिषदले तुलसीपुर उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बिहिबार परिषद प्रदेश नम्बर ५ का उपाध्यक्ष डम्बर बहादुर वली, परिषदका दाङ जिल्ला अध्यक्ष गोबिन्द जिसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख मित्रलाल शर्माले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
२०३६ सालमा प्रशासनीक कामगर्न भनी दरबन्दी शिर्जन गरेर कर्मचारी नियुक्ति गरेको भएपनि अहिले सम्मपनि तलब बृद्धि नभएको भन्दै उनीहरुले तलब बृद्धि गर्न माग गरेका हुन् । यस बिषयमा २०४७ साल देखि आफुहरु आन्दोलित भएपनि सरकारले सुनुवाई नगरेको उनीहरुको गुनासो थियो । सर्वोच्च अदालतले दरबन्दी शिर्जन गरि समायोजन गर्न सरकारलाई कार्यादेश जारी गरेपनि सरकारले आलटाल गरिरहेको उनीहरुको आरोप थियो । साथै बिभिन्न समयमा परिषद र शिक्षा मन्त्रीबीच सहमती भएपनि कार्यान्वयन भएको उनीहरुको गुनासो थियो ।
अहिले आफुहरुलाई दुई हजार देखि ११ हजार पाँच सय रुपैँयासम्म मात्रै पारीश्रमीक पाउने गरेको परिषदका प्रदेश उपाध्यक्ष डम्मर बहादुर वलीले बताए । अब सबै अधिकार स्थानीय तहमा आएकाले स्थानीय सरकारले उचित कार्यबिधि बनाएर लागु गरेमा आफुहरुका समस्या समाधान हुने वलीले बताए ।
उनीहरुले प्रचलित शिक्षा ऐन अनुसार सबै सामुदायिक बिद्यालय कर्मचारीको दरबन्दी हुनुपर्ने, आगामी आर्थिक बर्ष देखि सामुदायिक बिद्यालयका कर्मचारीहरुलाई निजामती कर्मचारीसरह सेवा सुबिधा दिनुपर्ने,बिब्यस तथा प्रअले नियुक्ति गरेका शिक्षकहरुलाई सरकारले स्थायी बनाउनु पर्ने, हाल कार्यरत ६० बर्ष पुगेका कर्मचारीलाई स्थायी भए पेन्सन, नभए उपदानको ब्यबस्था गर्नुपर्ने माग गरेका छन् । त्यस अबशरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाका सबै अधिकार अहिले स्थानीय तहमा नआएकाले यी मागहरुका बारेमा केन्द्रमा जानकारी गराउने बताए ।
ज्ञापन पत्र बुझाउन शिक्षक महासंघ कमलमनी न्यौपाने, नेपाल शिक्षक संघका लेबेन्द्र केसी, नेपाल शिक्षक संगठनका पदम वली, अखिल नेपाल शिक्षक संगठनका मोहन थापा, अखिल नेपाल शिक्षक संगठनका मेघराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।