सडक फराकिलो बनेपछि नारायणगढ मुग्लिन खण्डमा किन बढ्यो दुर्घटना ?



सैघाली खबर, ८ असार ।

नारायणगढ मुग्लिन सडकखण्ड सहज भएपछि तीब्रगतिका कारण सवारी दुर्घटना बढ्न थालेका छन् । दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेहरु बढ्न थालेपछि सो सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

गएको जेठ २३ गते ३३.२ किलोमिटर रहेको नारायणगढ मुग्लिन सडकखण्डको सबै भाग कालोपत्रे भएपछि सवारीहरु तीब्र गतिमा गुड्न थालेका छन् । पछिल्लो समय भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने, १० जना घाइते भइसकेका छन् ।

पछिल्लो केही दिनयता बढ्दै गइरहेको सवारी दुर्घटना र क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । चेकजाँचको क्रममा पहिलो एक सातामा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ८५ सवारीलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

यस्तै स्वीकृति नलिइ सिट थप गरेका ५५ वटा गाडीबाट सिट र मुडाहरु जफत गरिएको छ । तीब्र गतिमा सवारी चलाउनेलाई चालकसहित १० वटा सवारी साधन कारबाहीमा परेका छन् । तीव्र गतिमा चलाउनेमा सबै भन्दा बढी बोलेरो, निजी कारहरु र माइक्रोबस रहेको ट्राफिक प्रमुख गौतमले बताए । प्रहरीले दैनिक रुपमा राडर गन र ब्रेथलाइजरको प्रयोग गरी चेकजाँचलाई तीव्र पारेको र यसलाई अझै कडाइ गरिने ट्राफिक प्रमुख गौतमले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्