काठमाडौँ, ८ असार (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले उत्कृष्ट काम गर्ने आठ प्रहरीलाई नगदसहित सम्मान गरेको छ ।
परिसरले नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौतामा स्थापना भएको ‘काठमाडौँ प्रहरी अवार्ड’द्वारा आज जवानदेखि अधिकृतसम्मलाई सम्मान गरेको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा र बालाजु वृत्तका प्रमुख विश्वराज खड्कालाई संयुक्तरुपमा रु ५० हजार प्रदान गरियो । त्यस्तै, महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी निरीक्षक राजु लामा र नागढुङ्गा प्रभागका प्रहरी निरीक्षक केशवदत्त भट्टलाई संयुक्त रुपमा रु ३५ हजार प्रदान गरियो ।
यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब निरीक्षक धनसिंह ऐरी र महानगरीय प्रहरी कार्यालय, भृकुटीमण्डपका अजयजंग थापाले संयुक्तरुपमा रु २५ हजार प्राप्त गर्नुभयो ।
यसैगरी, महानगरीय प्रहरी प्रभाग, गोँगबुका प्रहरी हवल्दार ढालबहादुर क्षेत्रीले रु १५ हजार र महानगरीय प्रहरी वृत्त, कीर्तिपुरमा कार्यरत प्रहरी जवान केशव महताराले रु १० हजार प्राप्त गर्नुभयो ।
पुरस्कृत हुनेलाई आज एक कार्यक्रमकाबीच परिसरका प्रमुख विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार प्रदान गर्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।