संसारकै धनी बेजोसको सम्पत्ति गेट्सको भन्दा ४९ अर्ब डलर बढी



गत वर्ष अक्टोबरदेखि विश्वकै धनी बनेका अमेजनका फाउन्डर तथा सिइओ जेफ बेजोसको सम्पत्ति १ सय ४१ अर्ब ९० करोड डलर पुगेको छ। यो उनको हालसम्मकै सबभन्दा धेरै सम्पत्ति हो। फोर्ब्सका अनुसार यो वर्षको जून महिनायता मात्र उनको सम्पत्ति ५ अर्ब डलर बढेको छ।

धेरै वर्ष विश्वकै धनी सूचीको पहिलो नम्बरमा रहेका बिल गेट्सलाई बेजोसले निकै पछाडि पारेका छन्। बेजोसको सम्पत्ति गेट्सको भन्दा करिब ४९ अर्ब डलर बढी भएको छ। फोर्ब्सका अनुसार गेट्सको सम्पत्ति हाल ९२ अर्ब ४० करोड डलर छ। त्यस्तै वारेन बफेटको भन्दा करिब ६० अर्ब डलर बढी छ। बेजोसको सम्पत्तिको पछिल्लो आँकडाले धेरै वर्ष धनाढ्य सूचीमा रहेका दुई हस्तीलाई निकै पछाडि पारेको छ।

बेजोसको रफ्तार अहिले नै कम हुने पनि देखिन्न। अमेजनको सेयर दिनप्रतिदिन बढ्दो छ। वारेन बफेटले मौका पाएका बेला अमेजनमा लगानी नगरेकोमा पछुतो मानेको पनि बताइएको छ। फोर्ब्सले गत वर्ष जुलाईमा सार्वजनिक गरेको धनाढ्य सूचीमा पनि बेजोस अग्रस्थानमा थिए। तर त्योबेला उनको स्थान एक रात पनि मुश्किलले कायम रह्यो। बिहानसम्ममा गेट्स नै पहिलो नम्बरमा फर्किसकेका थिए।

यो घटनाको ठीक तीन महिनापछि फेरि बेजोसले गेट्सलाई पछाडि पारे। त्यसयता भने उनी निकै अघि लम्किसकेका छन्। गेट्स र बेजोसको सम्पत्तिबीचको फराकिलो अन्तरमा तुरुन्तै बेजोसलाई पछ्याउन गाह्रो हुने विश्लेषकहरूको भनाइ छ। धनाढ्य सूचीमा लामो समय अगाडि रहेका गेट्सलाई पछि पार्ने बेजोसको यात्रा भने लामो छैन। उनी सन् २०१६ मा एकैपटक विश्वका पाँचौं धनी बन्न सफल भएका थिए। सन् २०१७ को सुरुआतमा तेस्रो स्थानमा थिए।

सामान्य परिवारबाट आएका बेजोसको काम पनि एप्पल कम्पनीका स‌ंस्थापक स्टिभ जब्सको झैं ग्यारेजबाटै सुरु भएको थियो। सानैदेखि उत्सुक बेजोसले अनेकौं विषयमा उब्जिने आफ्ना जिज्ञासा हल ग्यारेजलाई प्रयोगशाला बनाएका थिए। उनको उत्सुक र जिज्ञासु स्वभावले नै बेजोसलाई किशोरावस्थामै ‘उद्यमी’ बनाएको हो।

हाइस्कुल पढ्दै गर्दा उनले आफ्नो पहिलो व्यवसाय सुरु गरेका थिए। ठूला सपना देख्ने बेजोसले चारदेखि छ कक्षा पढ्ने विद्यार्थीलाई गर्मी विदामा शैक्षिक भ्रमण लैजाने संस्था खोले, जसको नाम थियो– द ड्रिम इन्स्टिच्युट। पर्यटन व्यवसायबाट सुरुआत गरे पनि बेजोसको लगाव कम्प्युटरमा थियो। उनले कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरे। त्यसपछि सेयर कारोबार गर्ने थुप्रै फर्ममा काम गर्दै पुँजी बजारको अनुभव बटुले।

वित्तीय क्षेत्रको आकर्षक करिअरका बाबजुद बेजोसको मन त्यसमा अडेन। ‘आफैं केही गर्छु’ भन्ने रनाहाले भरिएका उनी कुनै कम्पनीको चार पर्खालभित्र खुम्चिएर बस्न चाहन्थेनन्। आफ्नो भविष्य आफैं कोर्न चाहन्थे। अन्ततः सन् १९९४ मा बेजोसले जागिर छाडे र सियाटल गए। त्यहीँ उनले बामे सर्दै गरेको इ–कमर्स व्यवसायमा हात हाले। त्यो उनको जीवनकै सबभन्दा ठूलो जोखिम थियो।

व्यावसायिक यात्राको पहिलो कदम पनि उनले त्यही ग्यारेजबाट चाले जसमा उनको बाल्यकालका उत्सुकता समेटिएका थिए। उनको अनलाइनमार्फत् किताब बेच्ने कम्पनी अमेजन डटकमको सुरुआत त्यहीँ भयो। उनको यो कम्पनी यति चल्यो, एक महिनामै अमेरिका तथा अन्य ४५ वटा देशमा अनलाइनमार्फत किताब बिक्न थाले।

कम्पनीले जति प्रगति गर्थ्यो बेजोसको उडान उति फराकिलो हुँदै गयो। अमेजन डटकमले किताबमा मात्र सीमित नरहेर दैनिक जीवनमा आवश्यक पर्ने सबै किसिमका सामान उपलब्ध गराउन थालेको छ। उपभोक्ताको चाहनाअनुरुप कसरी चल्नुपर्छ भन्ने उनमा राम्रो ज्ञान छ।

उनले भनेकै छन्, ‘उपभोक्तामा केन्द्रित हुनुहोस्, उनीहरूलाई सन्तुष्ट बनाउनुहोस्। उपभोक्तालाई केले खुसी बनाउँछ भनी खोज्न र उनीहरूको चाहनाअनुसार आविष्कार गर्न कहिल्यै नरोकिनुहोस्।’ अमेजन डटकम अनलाइन किनेमल गर्ने विश्वकै ठूलो बिक्रीकेन्द्र हो। इन्टरनेटमार्फत् किताब बेचेर सुरु भएको यो कम्पनीले डिभिडी, ब्लु–रे, सिडीहरूका साथै भिडियो, एमपिथ्री, अडियो किताब डाउनलोड, सफ्टवेयर, भिडियो गेम, विद्युतीय सामग्री हुँदै फर्निचर, खाद्यपदार्थ, खेलौना, गरगहना लगायत सबै किसिमका सर–सामान बेच्दै आएको छ।

अमेजनलाई विश्वकै ठूलो कम्पनी बनाएपछि धेरैले बेजोससँग सोधेका छन्, ‘कहिलेकाहीँ कामको रनाहा भए पनि सफलता हासिल हुँदैन। तपाईंको सफलताको सूत्र के हो?’ उनको जवाफ हुन्छ, ‘आफ्नो नियम आफैं बनाउनुहोस्।’ उनी दीर्घकालीन कदममा विश्वास राख्छन् र यहीअनुसार चल्छन्।

‘यसनिम्ति अल्पकालीन जोखिम र घाटा व्यहोर्न तयार हुनुपर्छ,’ बेजोस् भन्छन्, ‘भविष्य उजागर गर्नुछ भने आज ओझेलमा पर्ने निर्णय गर्न नडराउनुहोस्।’ चौबीस वर्षअघि उनले यही गरेका थिए। उनको भविष्य आज उजागर भएको छ। विश्लेषकहरू उनको सफलताको दौड यहीँ टुंगिने देख्दैनन्। त्यसैले होला, अक्सफाम नामक संस्थाले गत वर्ष नै भनेको थियो, ‘आगामी २५ वर्षमा बेजोस संसारकै पहिलो यस्तो व्यक्ति हुनेछन् जसको सम्पत्ति १० खर्ब डलर हुनेछ।’

बजोसको जीवनदर्शन छ– सफलताको बाटो असन्तुष्टिहरूले कुँदिएका हुन्छन्। यो बाटो हिँडेर आफूलाई सावित गर्नुछ भने, मैले गर्न सक्नेजति गरिसकेँ भन्ने कहिल्यै नसोच्नुहोला। बरु सम्भावित र उत्साहित गर्ने विकासको खोजीतर्फ लाग्नुहोला। यही दर्शनमा बजोस अहिलेकै रफ्तारमा दौडिरहे, उनलाई अरु कसैले भेट्टाउन निकै मुश्किल हुने विश्लेषकहरूले बताएका छन्।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्