सैघाली खबर, १० असार ।
भारतीय नम्बर प्लेटको मालबाहक ट्रकमा फल्स बटम बनाएर चरेश तस्करी गर्ने मेराज आलम पक्राउ परेका छन् । शनिवार बिहान काठमाडौंको कलंकीबाट पक्राउ परेका आलमको साथबाट लागु औषध नियन्त्रण ब्युराले २१३ किलो चरेश र साढे २ किलो अफिम बरामद गरेको ब्युरोका प्रमुख (डिआईजी) ठूले राईले जानकारी दिएका छन् ।
भारतीय ‘डब्लु बि २३ बि५८८५’ नम्बरको ट्रक आफैं चलाएर काठमाडौं आईपुगेका भारत मोतिहारी जिल्ला मोखिलिशपुर–९ स्थायी घर भएका आलम चरेश तस्करी समूहको महत्वपूर्ण सदस्य हुनसक्ने बताईएको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा आलम भरिया मात्रै हुन् भन्नसक्ने अवस्था छैन,’ डिआईजी राईले भने, ‘उनी चरेश तस्करी समूहको महत्वपूर्ण सदस्य हुनुपर्छ, हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
ब्युरोको लामो निगरानी पछि ठुलो परिणामको चरेशसहित पक्राउ परेका आलमले मकै लोड गरिएको ट्रकमा फल्सबटम बनाएर चरेश ल्याएका थिए । धादिङ अथवा मकवानपुरको माथिल्लो भागमा बनाईएको उक्त चरेश नेपालको सुनौली नाकाबाट गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागीएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका आलमले उक्त चरेश शुरक्षा निकायको आँखा छल्नका लागी काठमाडौंमा ट्रान्जिट बनाएर दिल्ली लैजान लागेको प्रहरी समक्ष बयान दिएका छन् । आलमले यसभन्दा पहिले पनी पटक–पटक उक्त ट्रकको प्रयोग गरेर अफिम तथा चरेशको ओसार–पसार गर्ने गरेको बताइएको छ । प्रहरीका अनुसार नेपालमा निर्माण हुने चरेश भारत र युरोपियन देशहरुमा समेत सप्लाई हुने गरेको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।