घोराही, १० जेठ । घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/ ०७६को लागि एक अर्ब ४९ करोड २६ लाख ८३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार भएको दोश्रो नगरसभाले उक्त बजेट प्रस्तुत गरेको छ । घोराही उप–महानगरपालिकाका उप मेयर सिता न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।
प्रस्तुत बजेटले कृषि तथा पशुपालन, उद्योग व्यवसाय, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति, खेलकुद, लैगिक समानता र सामाजिक समावेशीकरण, स्थानिय सडक, सिचाइ, भवन तथा शहरी विकास कार्यक्रमलाई मुख्य प्रथमिकता राखेको न्यौपानेले जानकारी दिनुभयो । त्यसैगरी उपमहानगरले उर्जा, संचार जलाधार, वातावरण संरक्षण, जलवायु परिवर्तन, जल उत्पन्न प्रकोप, विपद व्यवस्थापन, सुचना प्रविधि, अनुसन्धान तथा विकास, वडागत पँुजीगत अनुदानको लागि बजेट विनियोजन गरेको उहाँले वताउँनुभयो ।
जस अन्तरगत चालु तर्फ ९१ करोड ५७ लाख ८५ हजार अर्थात बजेटको ६१ दशमलब ३५ प्रतिशत बिनियोजन गरिएको छ । भने पुजिँगत तर्फ ५७ करोड ६८ लाख ९८ हजार अर्थात ३८ दशमलव ६४ प्रतिशत विनियोजन गरेको हो । आगामी आर्थिक बर्षका लागि खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकारबाट प्राप्त हुने अनुदान ३२ करोड ४६ लाख, राजश्व बाडफाडबाट २१ करोड ६९ लाख ८५ हजार, अनुदान रकम ४४ करोड ८१ लाख रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने विक्तिय समानिकरण अनुदान ७३ लाख १३ हजार, राजस्व बाडफाट २ करोड ८९ लाख, अनुदान १ करोड ३३ लाख अनुमानित गरिएको छ । त्यसैगरी उपमहानगरपालिकाको आन्तरिक रावश्व १९ करोड र लागत सहभागिता ५ करोडबाट व्यहोरिने उल्लेख गरिएको छ । साथै सामाजिक सुरक्षा कार्यक्रम सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आय हुने अनुमान गरिएको छ ।
जसमा उपमहानगरले आउदो आर्थिक बर्षको लागि सबै भन्दा धेरै शिक्षा क्षेत्रमा ३९ करोड ७ लाख ८७ हजार बजेट विनियोजन गरेको छ भने स्थानिय सडकमा १३ करोड ९० लाख बजेट विनियोजन गरेको छ । यस्तै कृषि तथा पशु सेवा क्षेत्रको लागि एक करोड ५२ लाख ५६ हजार, उद्योग व्यवासाय तर्फ ५ लाख, पर्यटनमा ५६ लाख, सहकारी तथा रोगजार प्रवर्धन क्षेत्रमा ३५ लाख, स्वास्थ्यमा ६ करोड ३८ लाख १२ हजार, खानेपानी तथा सरसफाईमा एक करोड २४ लाख, संस्कृति प्रर्वदनमा २३ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी खेलकुद तथा मनोरञ्जनका लागि १४ लाख ६० हजार, सिचाइमा २० लाख, उर्जामा १३ लाख ४५ हजार, संचारमा १० लाख, जलाधारमा १ करोड ८५ लाख, वातावरण संरक्षण जलवायु परिवर्तनमा ५० लाख, फोहोर मैला व्यवस्थापनमा ६३ करोड, जलउत्पन्न प्रकोप नियन्त्रणका लागि ५० लाख, विपत व्यवस्थापनमा ५० लाख, सुचना प्रविधिमा २४ लाख, अनसन्धान तथा विकासमा ६० लाख बजेट विनियोजन गरेको छ । यस्तै उपमहानगरले वडाहरुमा पँुजिगत योजना तथा कार्यक्रमहरु संचालन गर्नका लागि प्रत्येक वडाका ९० लाख विनियोजन गरेको छ भने उपमहानगरले प्रत्येक वडाको लागि थप १० लाखका दरले रकम दिने निर्णय समेत गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।