नयाँ दिल्ली
दक्षिण एसियाका धेरै मुलुकहरुलाई भारत बेलाबेलामा सताई रहन्छ । दुःख दिइरहन्छ । केही वर्ष अगाडी नेपालमाथी नाकाबन्दी लगाएको भारतले यसपटक अर्को छिमेकी देश माल्दिभ्समाथी पनि अघोषित नाकाबन्दी लगाएको छ । विभिन्न विषयमा भारतसित कुरा नमिलेपछि माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएका कारण भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको हो ।
दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँ दिल्लीले टापुराष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ ।
भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी)ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ । भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ । टापु राष्ट्र माल्दिभ्सले मुलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ । चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ । माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।
भारत र माल्दिभ्सबीच सन १९८१ मा व्यापारिक सन्धि भएको थियो । भेदभावरहित व्यापार र स्वतन्त्र परिवर्तनीय मुद्राको प्रतिबद्धतासहित दिल्लीले माल्दिभ्सलाई कुनै पनि निर्यात प्रतिबन्ध नलगाई खाद्य सामग्रीमा वार्षिक निर्यात कोटाको व्यवस्था गर्ने सन्धिको मूल मर्म छ ।
माल्दिभ्सलाई कोटा निर्धारण गर्नुका पछाडि स्वदेशी आपूर्तिलाई संरक्षण गर्न आवश्यक परे माल्दिभ्समाथि निश्चित प्रतिबन्ध लगाउन सकिने भारतको दाबी छ । ‘माल्दिभ्सलाई अर्र्को वर्ष आवश्यक पर्ने खाद्यान्नको सूची प्रत्येक वर्षको नोभेम्बरभित्र माल्दिभ्स सरकारले भारत सरकारलाई दिएर सहयोग गरिनेछ,’ सन १९८१ को भारत–माल्दिभ्सबीच भएको सन्धिको धारा ९ मा उल्लेख छ ।
सन्धिमा माल्दिभ्स सरकारले त्यसरी उपलब्ध गराएको सूचीमा भारत सरकारले अर्र्को वर्षका लागि डिसेम्बर अन्त्यसम्ममा विशेष खालको कोटा छुट्याइने उल्लेख छ । उक्त व्यवस्था आपूर्तिको उपलब्धता र माल्दिभ्स सरकारको समग्र आवश्यकतामा भर पर्ने पनि सन्धिमा उल्लेख छ । माल्दिभ्सले पछिल्लो सम्पर्कमा नयाँ दिल्लीसँग उच्चकोटा माग नगरेको भारतीय वाणिज्य विभागका वरिष्ठ अधिकारीले बताएका छन ।
‘लामो समयदेखि विद्यमान व्यापारिक नीतिमा केही परिवर्तन आवश्यक छ । माल्दिभ्सले त्यस्ता सामग्री हामीबाट मात्रै आयात गरेको देखेका छौं र त्यसको नतिजाका रूपमा माल्दिभ्सले पछिल्लो तीन वर्ष प्रयोग गरेको कोटाको औसत प्रयोगमा आधारित रहेर हामीले गरेको पछिल्लो आँकलन हो,’ उनले भने । माल्दिभ्सलाई अघिल्लो वर्ष एक सय ९७ मिलियन डलर बराबर निर्यात गरेको भारतले सन २०१७–१८ मा दुई सय १७ मिलियन बराबरको समग्र निर्यात गरेको छ ।
हिन्द महासागरमा कूटनीतिक गृष्मलहर
फेब्रुअरीमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले मुलुकमा संकटकाल घोषणा गरेपछि भारत र माल्दिभ्सबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धका समस्या बढेको थियो ।
सुरुवाती चरणमा भएको वार्ताले अवस्थालाई केही सुधार बनाए पनि विकसित घटना देशको आन्तरिक मामिला भएको भन्दै यामिनले नयाँ दिल्लीलाई हस्तक्षेप नगर्न कैयौं पटक आग्रह गरेका छन । यसै महिनाको सुरुमा माल्दिभ्सका राष्ट्रपति यामिन निकट सांसदलाई सोही भूमिकामा भारत आउनबाट नयाँदिल्लीले रोक लगाएपछि दुई देशबीचको सम्बन्धमा थप समस्या उत्पन्न भएको थियो । भारतले सन २०१३ मा २६ नौसैनिक सहित माल्दिभ्सलाई उपहार दिएको ‘ध्रुब’ नामक सुविधासम्पन्न हल्का हेलिकप्टरहरु माल्दिभ्सले फिर्ता लान भनेको छ ।
ती २६ नौसेना हेलिकप्टरलाई सञ्चालन गर्न र सम्हाल्नका लागि भन्दै भारतले माल्दिभ्समा पठाएको थियो । माल्दिभ्स सरकारले त्यहाँ कार्यरत दुई हजारभन्दा बढी भारतीय कामदारको श्रम इजाजत नवीकरण गरेको छैन ।
माल्दिभ्सबाट प्रकाशित हुने विज्ञापनमा पनि भारतीय कामदार नचाहिएको भन्ने विवरण प्रकाशित हुन थालेका छन । माल्दिभ्समा २५ हजारभन्दा बढी भारतीय नागरिक कार्यरत छन ।
रिडिल नेपाल

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।