मुख्य समाचार

३१८ स्थानीय तहमा कसले कहाँ जिते

By थाहा अनलाइन

July 06, 2017

दाङ,२२ असार दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बिहीवार विहानसम्म ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

पहिलो चरणमा कांग्रेसलाई २१ सिट पछि पारेको एमालेले दोस्रो चरणमा अन्तर अझ फराकिलो पार्ने देखिएको छ ।

कांग्रेसले दोस्रो चरणमा एमालेलाई पछि पारेर पहिलो चरणको क्षतिपूर्ति लिने लक्ष्य राखेको थियो । धेरै ठाउँमा कांग्रेसले माओवादी लगायतका दलसँग तालमेल समेत गरेको थियो । तर दोस्रो चरणमा एमालेले कांग्रेसलाई अझ पछि पारेको छ ।

अहिलेसम्म १४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १० स्थानमा एमालेको अग्रता छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । मतगणना भइरहेकामा कांग्रेसको अग्रता ४ स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्र ३७ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेको एक स्थानमा अग्रता लिइरहेको छ ।

संघीय समाजवादी फोरमले ७ स्थानीय तह जितेर चौथो स्थान सुरक्षित गरेको छ । उसले अझै एक स्थानमा अग्रता लिइरहेको छ ।

फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।

राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरे पनि स्वतन्त्र उम्मेदवार बनेका राजपा नेताले २ स्थानीय तहमा जितेका छन् । त्यस्तै फोरमबाट टिकट नपाएपछि बागी उठेका एकजनाले कृष्णनगर नगरपालिका कपिलबस्तुको मेयर जितेका छन् ।