भयावह बन्दैछ बाल अनलाइन दुर्व्यवहार : किन प्रहरीसम्म पुग्दैनन् अभिभावक ?



एक वर्षअघि झापाको सुरुङ्गास्थित एक सामुदायिक विद्यालयको कक्षा १० मा पढ्ने किशोरीको फेसबुकमार्फत भद्रपुरका युवकसँग चिनजान भयो । विस्तारै उनीहरुबीच नियमित कुराकानी हुन थाल्यो । एउटै उमेर समूहका उनीहरुबीचको सम्बन्ध एक महिना नबित्दै प्रेममा परिणत भयो । ‘कुराकानी हुन थालेको एक महिनापछि नै हामी एकअर्कालाई असाध्यै माया गर्न थालेका थियौं’, पीडित किशोरी भन्छिन्, ‘तर, हाम्रो सम्बन्ध लामो समयसम्म भने टिकेन ।’

उनीहरुबीच सामिप्यता बढ्दै गएपछि युवकले किशोरीसँग फेसबुक एकाउन्टको पासवर्ड मागे । सुरुमा किशोरी दिइनन् । पासवर्डकै कारण उनीहरुको सम्बन्धमा फाटो आउने स्थिति सिर्जना हुन लागेपछि किशोरी पासवर्ड दिन बाध्य भइन् । त्यसको केही समयसम्म उनीहरुबीचको सम्बन्ध राम्रै चल्छ ।

किशोरीलाई भेट्न युवक एक पटक भद्रपुरबाट सुरुङ्गासम्म आउँछन् । तर, उनीहरुबीच दोस्रो भेट भने हुन पाउँदैन । घर परिवार र नजिकिँदै गरेको एसईई परीक्षाको कारण देखाउँदै किशोरी ती युवकसँगको सम्बन्धलाई तोड्न खोज्छिन् । तर, युवकले किशोरीको त्यो जवाफ प्रति विश्वास गर्दैनन् । अनेक शंका र उपशंका गर्न थाल्छन् ।

विस्तारै उनको आवेग यति बढ्दै जान्छ कि उनको मनमा अपराधिक मनोवृत्तिले डेरा जमाउँछ । अनि, सुरु गर्छन्, किशोरीको फेसबुक एकाउन्टको दुरुपयोग । ‘मैले आईडी दिएको बेला उसले आफ्नो नम्बर पनि त्यहाँ एड गरेको रहेछ’, किशोरीले भनिन्, ‘त्यसपछि आईडीमा एड गरेकै नम्बरको मद्दतले उसले मेरो पासवर्ड उल्टै परिवर्तत गरिदियो ।’

उनले सुरुमा आफ्नो आईडी किन खुलेन भनेर केही अत्तोपत्तो पाइनन् । तर, आईडी नखुलेको केही दिनपछि जब आफ्नो एकाउन्टबाट अश्लिल तस्वीरहरु पोष्ट भयो, तब उनी झसङ्ग भइन् । आफन्त र साथीभाइबाट व्यापक फोन आउन थाले । तब, परिवारसम्म कुरा पुग्यो । ‘सुरुमा त हामीलाई केही पनि भनिनन् । तर, ढिलो गर्दा समस्या झन् बढ्ने हुँदा प्रहरीमा जाने तयारी हुँदै गर्दा हामीलाई उनले एकपटक साथीलाई पासवर्ड दिएको बताइन्’, किशोरीका दाजु भन्छन् ।

‘सुरुमा प्रहरीमा जाने कुरा भएको थियो । त्यही अनुरुप भद्रपुर गयौं । तर, जाने क्रममा युवकको अभिभावकसँग सम्पर्क भयो’, उनले थपे, ‘त्यसपछि अभिभावकसहित उसलाई राखेर छलफल गर्‍यौं ।’ कुराकानीका क्रममा दुवै पक्षको कमजोरी देखियो । त्यसपछि कानुनी प्रक्रियामा जाँदा झन् हल्ला हुने भन्दै उनीहरुले प्रक्रिया अघि बढाएनन् । र, दुवै पक्षका अभिभावकले आफैं विवाद मिलाए ।

कलंकीको एक निजी विद्यालयको कक्षा ९ मा पढ्छिन्, सुस्मिता (नाम परिवर्तन) । उनको कक्षा ७ मा पढ्दैदेखि एक सहपाठीसँग निकटता बढ्यो । विस्तारै उनीहरु यति नजिक भए कि एकअर्का विना एकपल पनि बिताउन नसक्ने दाबी गर्न थाले । बालिका सामान्य परिवारकी थिइन् भने बालक राम्रै घरानाका थिए । सुस्मिता अभिभावकको मोबाइल भेट्ने बित्तिकै फेसबुक खोलेर प्रेमीसँग कुराकानी गर्न थालिहाल्थिन् ।

यद्यपि, अरुको मोबाइल चोरेर प्रेमीसँग कुराकानी गर्ने क्रममा धेरै लामो समयसम्म चल्न पाएन । घरमा अभिभावकले उनको बारेमा थाहा पाएपछि उनलाई मोबाइल छुन समेत दिइएन । विद्यालय पनि परिवर्तन गरियो । तर, दुई जना एकअर्काबाट टाढा रहन भने सकेनन् ।परिवारबाट भएको रोकावटपछि उनीहरुको भेट त पातलियो । तर, दुवैको मनमा माया भने थियो ।

प्रेमिकाबाट टाढा बनाएको झोंकमा बालकले प्रेमिकासँग खिचेका गोप्य फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थाले । अब भने सुस्मितालाई पनि अफ्ठ्यारो पर्‍यो । उसले सुस्मिताका अभिभावकलाई समेत त्यो फोटो ट्याग गरिदिएको पीडित परिवारका एक सदस्य बताउँछन् ।

बालकको त्यो हर्कतविरुद्ध उनीहरु साइबर क्राइम अन्तरगत उजुरी हाल्न भन्दै महानगरीय अपराध महाशाखासम्म त आए । तर, त्यसबीच पीडितको अभिभावकसँग कुराकानी भएपछि उनीहरुले प्रहरीको सहायतालिनु उचित ठानेनन् । र, फर्किए ।

किन प्रहरीसम्म पुग्दैनन् अभिभावक ?

केही वर्ष अघिसम्म कलेजमा पढ्ने विद्यार्थी र युवा अवस्थाका व्यक्तिहरुमा देखिँदै आएको अनलाइन अपराध सम्बन्धी घटना अहिले विद्यालयमा अध्ययरत बालबालिकासम्मै पुगेको छ । यसको क्रम बढ्दो छ ।

तर, प्रहरी समक्ष भने त्यस्ता घटना विरलै मात्रै पुग्ने गरेका छन् । आखिर किन त ? केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल भन्छन्, ‘पहिलो कुरा त अनलाइनमार्फत बालबालिकामाथि भइरहेको दुर्व्यवहारको कुरालाई सामान्य रुपमा लिने गरिएको छ । त्यसैले पनि यस्ता घटना बाहिर आउनै पाउँदैनन् ।’

‘अर्को कुरा बालबालिकामाथि हुने दुर्व्यवहारको घटना उजुरी गर्ने प्रक्रिया बालमैत्री छैनन् । राम्रो रेस्पोन्स नहुने समस्या छ’, उनले अनलाइनखबरसँग भने, ‘झन्झटिलो प्रक्रियाले अभिभावक पनि उजुरी गर्ने निकायसम्म पुग्न चाहँदैनन् ।’ नेपाली समाजमा बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किएको छ

त्यसका लागि जनचेतना फैलाउनु आवश्यक रहेको धितालको भनाइ छ । ‘एउटा दुर्व्यवहारलाई सहनु भनेको बदमासी गर्नेलाई थप १० वटा दुर्व्यवहार गर्न छुट दिनु हो भन्ने कुरा बुझ्न जरुरी छ’, उनले भने, ‘त्यस्ता घटनाको छानबिनका लागि विशेष गोपनीयता अपनाएर दोषीलाई कारबाही हुने कुरामा पीडितलाई आवश्वस्त तुल्याउन सक्नु पर्छ ।’

बालबालिकामाथि अनलाइनबाट हुने दुर्व्यवहारको क्षेत्रमा काम गरिरहेको संस्था भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा विभिन्न माध्यमबाट वर्षेनि १५ देखि २० वटा घटनाहरु आफूहरुसम्म आउने गरे पनि कानुनी निकाय समक्ष कमै मात्र पुग्ने स्वीकार गर्छन् । ‘हामीले विभिन्न विद्यालयहरुमा अभिमुखीकरण कार्यक्रमहरु गर्ने गरेका छौं ।

त्यस्तै, सञ्चारमाध्यमहरुबाट पनि अभियान चलाउने गरेका छौं’, थापाले अनलाइनखबरसँग भने, ‘त्यस माध्यमबाट हामीकहाँ अनलाइन दुर्व्यवहारका घटना रिपोर्ट त हुन्छन् । तर, अधिकांश घटनाहरु सम्बन्धित बालबालिकाको समस्या सामाधान भएपछि त्यत्तिकै मिल्ने गरेको छ ।’

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल पनि धिताल र थापाको कुरामा सहमत छन् । भन्छन्, ‘आफ्नो छोराछोरीको कुरा एक्सपोज हुन्छ भनेर त्यस्ता घटनाहरु लुकाउन खोजेको देखिन्छ । उनीहरुलाई आफ्नो क्षति हुन्छ भन्ने डर पनि रहने गरेको छ ।’

उनको बुझाइमा अहिले अभिभावकको बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किएको छ । ‘छोरीको हकमा भने एउटा अभिभावक केही हदसम्म प्रताडित हुन्छ । तर, छोरा के गर्दैछ भन्ने सोच्ने कष्ट गर्दैनन्’, पोखरेलले भने, ‘उनीहरुमाथि निगरानी गरिँदैन । अब पहिले जस्तो देखावटी निगरानीले मात्रै पनि भएन ।

सामाजिक सञ्जालमा के गर्दैछ भन्ने विषयको पनि खोजी गर्नु पनि जरुरी छ ।’ उनका अनुसार बालिबालिकासँग त्यस्ता विषयमा हरेक दिन छलफल गर्नु जरुरी छ । ‘ती विषयवस्तुहरुमाथि बालिबालिकासँग व्यापक छलफल गरिन पर्छ’, उनी भन्छन् ।

बढ्दो छ साइबर अपराध

महानगरीय अपराध महाशाखाको साइबर सेलमा मात्रै १० महिनाको अवधिमा १ हजार १ सय ७६ वटा साइबर अपराधका घटना दर्ता भएका छन् । जसमा अधिकांश पीडित टिनएजर्स र युवा छन् । महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार साइबर क्राइमको घटनामा विशेषतः सामाजिक सञ्जालहरुसँग सम्बन्धित उजुरीहरु बढी आउने गरेका छन् ।

महाशाखाले त्यसरी १० महिनाको अवधिमा ५४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मुद्दाहरुमा ३७ वटा सामाजिक सञ्जालसँग सम्बन्धित थिए भने दुई जनाविरुद्ध अन्य व्यक्तिको पासवर्ड ह्याक गरेको आरोप लागेको थियो । त्यस्तै, जथाभावी एसएमएस गरेर धम्की दिने ११ जना, चिठ्ठा प¥यो भनेर ठग्ने ३ जना र एक जना यूट्यूबमा व्यक्तिको चरित्र हत्या गर्ने एक जनाविरुद्ध मुद्दा चलेको थियो ।

साइबर क्राइमबाट १२ वर्षदेखिकै बालबालिकाहरु शिकार भइरहेका महाशाखाका अधिकारी बताउँछन् । यद्यपि, मुद्दा नचलेका कारण त्यस्ता घटनाको संख्या यकिन नहुने उनीहरुको भनाइ छ ।।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्